काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अंग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ-आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा अपील गर्नुभएको छ।
शनिबार बिहान काठमाडौंमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘सबै दाजुभाइ दिदीबहिनीहरूमा म आह्वान गर्दछु । मान्छे मरेपछि खरानी भएर जाने अंगहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन्। मानव हुनुको नाताले कलेजो, मृगौला, मुटु, फोक्सो लगायतका अंग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो। तसर्थ, अंग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ-आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा हार्दिक अपील गर्दछु।’’

अंग फेल भई मृत्युको मुखमा पुगेका बिरामीलाई बचाउने यस महान अभियानलाई प्रवद्र्धन गर्न नेपाल सरकारको तर्फबाट सम्पूर्ण किसिमले साथ र सहयोग रहने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ। राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रलाई बिस्तार गर्न जग्गा उपलब्ध गराउने निर्णय गरिएको थियो । उहाँले भन्नुभयो, “मेरो यही कार्यकालमा यससम्बन्धी बाँकी काम टुंगोमा पुर्याउन सरकार प्रतिवद्ध छ।”



S.K. Creative Media Group