प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाएको छ । शुक्रबार पालिकाको आयोजनामा “सबै तहका सरकार, सबै नागरिकको तयारी : भुकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी” भन्ने मुल नारा सहित २८ औं भुकम्पसुरक्षा दिवस मनाइएको हो।

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले भूकम्पबाट हुन सक्ने सम्भावित क्षति न्यूनिकरण गर्न स्थानीय सरकारले आवश्यक नीति, कार्यक्रम र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ ।

विगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्वतयारी र आवश्यक सचेतना अभिवृद्धिका लागि सबैको सहयोग र सहकार्य जरुरी रहेको उहाँले बताउनुभयो ।

उहाँले भूकम्प प्राकृतिक विपद् भएकोले कहिले, कहाँ र कसरी आउने हो भन्ने निश्चित नभएकाले यसको जोखिम सदैव रहने भएको भन्दै त्यसका लागि आम नागरिक सचेत हुनुपर्ने बताउनुभयो । भूकम्पीय जोखिम कम गर्न भूकम्पप्रतिरोधी संरचना निर्माणसँगै नागरिकमा सचेतना आवश्यक रहेकोले यसतर्फ सबैको ध्यान जानुपर्नेमा उहाँको जोड थियो ।

विगतमा भूकम्पबाट नेपालीले भोग्दै आएको पीडाको स्मरण गर्दै त्यसैको पाठबाट आगामी दिनमा थप जोखिम नहोस् भनेर गाउँ गाउँमा जनचेतनामूलक अभियानसँगै मादपण्ड अनुसारको निजी तथा सार्वजनिक संरचना बनाउन सबैले चासो दिनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर राज सेजुवालले बताउनुभएको छ ।

खास गरि बिरामीहरु, बालबालिका र वृद्धवृद्धासम्मलाई भूकम्पको अलि बढी जोखिममा हुने भएकोले भूकम्पको जोखिम र सतर्कताका बारेमा नियमित जानकारी गराउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत सेजुवालले बताउनुभयो ।

उहाँले जोखिमयुक्त क्षेत्रहरूको पहिचान, सुरक्षित संरचना निर्माण, भवन निर्माण आचारसंहिताको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । त्यसको लागि विद्यालय र समुदायस्तरमा सञ्चालन भइरहेका सचेतना तथा तयारी सम्बन्धी कार्यक्रमहरू अभियानको रुपमा लैजादा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, कर्मचारी, प्राविधिक, व्यापारी, स्थानीय जनता, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

भूकम्पबाट सधैँ सतर्क रहनुपर्ने र आवस्यक तयारीका लागी सबै तहका सरकारले समन्वयमा आवश्यक तयारी गर्नुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका छन् । बोल्ने बक्ताहरुले नजिकको सरकार स्थानीय तह भएकोले यो विषयमा थप जिम्मेवार भएर विपद सम्बन्धि सुरक्षाको लागि पुर्व तयारीको काममा चनाखो हुन आग्रह समेत गरिएको थियो ।

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा भूकम्पले ज्यान गुमाएकाहरुको सम्झना समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख यामलाल पोख्रेलले गर्नुभएको थियो ।

नेपालमा वि.स. १९९० माघ २ गते, २०४५ साल भदौ ५ गते, २०७२ बैशाख १२ गते आएका भूकम्प ठूला रहेका थिए । विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आइएको छ । विगतमा यी भूकम्पहरूबाट नेपालको सम्पत्ति र जनधनको धेरै क्षति भएको देखिन्छ । वि.सं. १२१८ बाट भूकम्प रेकर्ड गरिएको देखिन्छ ।

१९९० माघ २ गते नेपालमा गएको भूकम्पलाई महाभूकम्प भनिन्छ । चैनपुरलाई केन्द्र बनाएको ८.४ रेक्टर स्केलको भूकम्पले देशलाई धेरै नराम्रो झट्का लाग्यो । उक्त भूकम्पमा परी तीन हजार आठ सय ५० पुरूष र चार हजार छ सय ६९ महिला गरी जम्मा आठ हजार पाँच सय १९ जनाको ज्याब गएको थियो ।

वि.स.२०४५ साल भदौ ५ गते बिहानै पौने पाँच बजे गएको ६.७ रेक्टर स्केलको भूकम्पमा पनि सात सय ५० जनाले ज्यान गुमाएको रेकर्ड रहेको छ ।

वि.स.२०७२ को बैशाख १२ गते गएको भूकम्पमा परी आठ हजार पाँच सय ५६ जनाले ज्यान गुमाए । हजारौं घायल भए तथा तीन हजार सात सय ५७ सरकारी भवन नष्ट भएका थिए । यो भूकम्प ७.८ रेक्टर स्केलको मापन गरिएको थियो । नेपालमा त्यस यता साना तिना भुकम्पको पराक्रम जाने क्रम चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय