प्युठान । आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्युठानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार जिल्ला सदरमुकाम खलंगा स्थित डिभिजन बन कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

आसन्न निर्वाचनमा उम्मेदवारी दर्ता, निर्वाचनमा कर्मचारी परिचालन, निर्वाचनसम्बन्धी सामग्रीको व्यवस्थापन तथा भण्डारण, निर्वाचनको सम्पुर्ण प्रशासनिक काम कारवाही, मतगणना लगायत निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कामहरु सञ्चालन तथा व्यवस्थापन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृतको नियुक्ति तथा निर्वाचनसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण सम्पन्न भएसँगै निर्वाचन सम्पन्न गराउने जिम्मेवारी आफूहरूमा आएको मुख्य निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

‘निर्वाचन आयोगले पहिलो चरणमा हामीलाई दुई दिनको प्रदेशस्तरीय अभिमुखीकरण दिएको छ। यो अभिमुखीकरणले रिफ्रेस गरेको छ । ऐन–नियमको परिधिभित्र रहेर निर्वाचनलाई शान्तिपूर्ण निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व रहेकाले निर्वाचनलाई सफल बनाउन जिल्लास्थित सबै राजनितिक दल, कर्मचारी, जनप्रतिनिधी, संचारकर्मीले महत्वपूर्ण भूमिका खेल्नु पर्ने मुख्य निर्वाचन अधिकृत भण्डारीले बताउनुभयो।

मतदातालाई उत्साहित बनाउदै भयरहित बाताबरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व रहेका कारण सबै पक्ष जिम्मेवार बन्नुपर्ने उहाँको भनाई छ । हालसम्म करिब ५१ प्रतिशत काम निर्वाचन आयोगले सम्पन्न गरेको बताएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा १५८ मतदानस्थल र २३० मतदान केन्द्र रहेका छन्। कुल १ लाख ६५ हजार ४०६ मतदाता रहेको प्युठान जिल्लामा करिब १ हजार ५ सय कर्मचारी र २ हजार सुरक्षाकर्मी परिचालित हुने प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंले बताउनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकीकृत सुरक्षा योजनाका साथ जिल्ला स्थित सुरक्षा निकाय परिचान गरिने उहाँको भनाइ छ ।

त्यस्तै निर्वाचन प्रहरीका लागि दरखास्त दिने समयावधि प्युठानमा थप गरिएको छ। यहीँ माघ १ गतेसम्मका लागि समय तोकिए पनि आवश्यक मात्रामा निर्वाचन प्रहरीका लागि दरखास्त नपरेको भन्दै जिल्ला प्रशासन कार्यालय प्युठानले दुई दिन दरखास्त दिने समय थप गरेको जनाएको छ ।

सार्वजनिक बिदाको दिनमा पनि दरखास्त दिन सकिने प्युठान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । प्युठानमा १ हजार ५ सय ३५ जना निर्वाचन प्रहरी भर्ना गरिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय, जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुख, कर्मचारी, जिल्लामा क्रियाशील पत्रकार तथा संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय