बद्रीनाथ गैरे

तिम्रा रगतले उभिएको यो स्वाभिमान
आज धरमर हुँदैछ कसैका कुण्ठामा
तिमिले बुनेको त्यो सुन्दर सपना
जलिरहेको छ आज मृत्युशय्यामा ।

सुशासनका मुकुन्डो धारण गरेर चलिरहन्छ
खुलेआम चरम स्वार्थका खेलहरु
कसैको अहम अनि कसैका आवेगमा
बगिरहेछन् अझ रगतका भेलहरु ।

सुन्दैछु तिम्रो मूल्य लिलाममा छ रे अचेल
बढाबढमा बिक्रि हुन्छन् ति सपनाहरु
कोही आउँछ उफ्रँदै, बस्छ सिंहासनमा
रमाउँछ अनि गरेर अनेक वितण्डाहरु।

ढाड टेकेर तिम्रो
कतिलाई प्रगतिको शिखर चढ्नु छ
नाम जपेर तिम्रो
पुस्तौंसम्म रजाइँ गर्नु छ ।

ताराहरु झरिरहेछन् हरेक मिरमिरेमा
तर आएन तिमिले सोचेको बिहान
उज्यालोसँग डराउँछन् कर्तुतहरु
काला रातहरुमै खन्छन् आफ्नै चिहान।

नउठुन् अब कुनै दु:शासनहरु
अआउन् उस्तै भोकाएका हुँडारहरु
बुझुन् शहीदका मूल्य र जनताका रहर
रित्याएर सपना नभरुन् भण्डारहरु।

देशका लागि प्राण त्याग गर्ने
अमर शहीदहरुप्रति उच्च सम्मान एवं श्रद्धासुमन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय