प्यूठान । जिल्लामा कृषि क्षेत्रको बजेटलाई प्रभाबकारी बनाउन राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले स्थानीय तहसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयनलाई अघि बढाएको छ । कार्यालयले स्थानीय तहका कृषि तथा पशु विकास शाखासँग त्रैमासिक रुपमा समीक्षा गोष्ठी गर्दै प्रभावकारी कार्यान्वयनलाई जोड दिएको हो ।

जिल्लामा कृषि क्षेत्रमा छुट्टाएको बजेटको सही सदुपयोग गरि उत्पादन र उत्पादकत्व बढाउन किसानलाई सहजीकरण गर्नुपर्ने कार्यक्रम कार्यान्वयन इकाई प्यूठानका प्रमुख चुमानसिंह गिरीले बताउनुभयो । “किसानका समस्या धेरै छन,” उहाँले भन्नुभयो, “स्रोत कम छ ।”

जिल्लामा चिस्यान केन्द्र, संकलन केन्द्रलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको गिरीले बताउनुभयो । त्यसका लागि सवै निकायवीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । किसानको आवश्यकता पहिचान गरेर सहजीकरण गर्न कृषि प्राविधिकले भूमिका खेल्नुपर्ने उहाँको सुझाव छ ।


मंगलबार पकेट विकास कार्यक्रम तथा अन्य कृषिसँग सम्वन्धित कार्यक्रमहरुको त्रैमासिक अवधिको समीक्षा गरिएको हो । कार्यक्रममा अदुवा वेसार जोनका संयोजक रेवत खनालले जिल्लामा वीऊ उत्पादनतर्फ किसानलाई जोडेर आयआर्जनमा वृद्धि ल्याउन सकिने भएकाले त्यसतर्फ कार्यक्रम बनाउनुपर्ने बताउनुभयो । नियमित रुपमा समीक्षा गर्दै कृषि क्षेत्रको बजेटको सही कार्यान्वयन गर्न राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले गरेको अभ्यास आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा धानजोन सञ्चालक समितिका संयोजक श्याम थापा, पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारी, अगुवा कृषक मुकुन्द मल्ल लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय