प्यूठान। चालु आर्थिक वर्ष २०८२।०८३ मा प्यूठान जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३१ वटा मुद्धा परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा अघिल्लो वर्षको दुई थान र चालु आर्थिक वर्ष २९ वटा मुद्धा दर्ता भएको हो ।
आयोगले शुक्रबार मल्लरानी गाउँपालिका खलंगामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन सम्बन्धि स्थानीय तह स्तरीय अन्र्तक्रिया कार्यक्रममा प्रहरी निरीक्षक दिवाकर रिजालले १७ वटा मुद्धा अनुसन्धान गरिएको र १४ मुद्धा बाँकी रहेको जानकारी दिनुभयो । प्यूठानको सरुमारानीबाट १० वटा मुद्धा दर्ता भएका छन भने मल्लरानी गाउँपालिका र माण्डवी गाउँपालिकाबाट कुनैपनि मुद्धा अख्तियारमा नपरेको रिजालले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले ऊजुरी पर्नु नै गलत भएको भन्ने भाष्य सृजना गर्न नहुने भन्दै त्यसको निराकरण अनुसन्धानबाट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान सरकारले सुशासनका लागि चालेको कदम सकारात्मक भएको बताउनुभयो ।
आयोगका प्रहरी नायव उपरीक्षक प्रताप पौडेलले आयोगले सिमित स्रोत साधनकाबीच लुम्बिनी प्रदेशका ९ वटा जिल्लामा सेवा दिँदै आएको बताउनुभयो । आयोगले पालिका स्तरमा पुगेर कार्यक्रम गर्ने योजना अनुसार कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा ऊजुरी कुरेर मात्र नबस्ने भन्दै आफै फिल्डमा पुगेर भ्रष्टाचारजन्य गतिविधिको निगरानी गर्ने योनजामा आयोग अगाडी बढेको बताउनुभयो । पछिल्लो एक महिनाको अवधिमा आयोगको क्रियाशिलता समेत बढेको उहाँको भनाई छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विजय पौडेल, वडा नम्वर २ का वडा अध्यक्ष लेख बहादुर थापाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मल्लरानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, उपभोक्ता समितिका पदाधिकारी लगायतको उपस्थिती थियो ।



S.K. Creative Media Group