सल्यान । सल्यान जिल्लामा ठूलो परिमाणमा बिस्फोटक पदार्थ फेला परेको छ । शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी कार्यालय सल्यान परिसरभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा वैशाख १६ गते दिउँसो करिब १२:३५ बजे सकेट बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो ।

प्रहरीका अनुसार प्रारम्भिक रूपमा भेटिएको वस्तु व्यवस्थापनका लागि नेपाली सेना सँग समन्वय गरिएको थियो। सो क्रममा सिद्धीबक्स गण सल्यानबाट उपसेनानी कृष्णा क्षेत्रीको कमाण्डमा टोली परिचालन गरिएको थियो भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर के.सी.को नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।

उत्खनन कार्यलाई निरन्तरता दिँदै वैशाख १६ गते अपराह्नसम्म १० वटा सकेट बम फेला परेको प्रहरीले जनाएको छ। थप बम डिस्पोजलका लागि नं. १९ बाहिनी, तुलसीपुर, दाङ बाट विशेष टोली झिकाइएको थियो ।

त्यसैगरी, वैशाख १९ गते कालीभक्ती गण भैरहवाबाट सेनानी श्रीप्रसाद रामजालीको कमाण्डमा इन्जिनियर टोली तथा सिद्धीबक्स गण सल्यानबाट थप सुरक्षा टोली घटनास्थलमा पुगेका थिए।
प्रहरीका अनुसार उत्खननका क्रममा हालसम्म जम्मा ८६ वटा बम फेला परेका छन् ।

 

तीमध्ये ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एक वटा बोतल बम रहेका छन्। साथै सात थान रेडियो वेभ, करिब ५०० ग्राम विस्फोटक पदार्थ, दुई केजी बम निर्माणमा प्रयोग हुने सामग्री तथा १० मिटर फायरिङ केबलसमेत बरामद गरिएको छ ।

फेला परेका बिस्फोटक सामग्री सुरक्षित रूपमा निष्क्रिय पार्ने कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय