दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश घोषणा गर्नेगरी आवश्यक कार्यविधि निर्माणको काम छिट्टै सम्पन्न गरेर कार्यान्वयनमा लैजाने बताउनुभएको छ । मानवसेवा आश्रम ले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा सहभागी टोलीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यकामा बिहिवार छलफल गर्दै मुख्यमन्त्री आचार्यले मानवता र करुणायुक्त प्रदेश निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले सही सडक र सही संगत मिले मानिस सही ठाउँमा पुग्न सक्ने उल्लेख गर्दै सडकआश्रित र बेसहारा मानवहरूको संरक्षण राज्य र समाज दुवैको साझा दायित्व भएको धारणा राख्नुभयो । मानवसेवा आश्रमले बैशाख २७ गतेदेखि सुरु गरेको मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा जेठ २२ गतेसम्म सञ्चालन हुने जनाएको छ । यात्राको क्रममा हालसम्म ११६ जना सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरिएको जानकारी दिइएको छ ।

आश्रमका अनुसार यात्रा एक महिनासम्म सञ्चालन हुनेछ । उद्धार गरिएका व्यक्तिहरूलाई संरक्षण, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलनका लागि आश्रमका सेवा केन्द्रमार्फत व्यवस्थापन गरिनेछ । मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त तथा अभिभावकविहीन व्यक्तिहरूको उद्धार र संरक्षणमा काम गर्दै आएकाे छ ।

वि.सं. २०६९ भदौ १३ गते मकवानपुरको हेटौँडाबाट औपचारिक सेवा सुरु गरेको आश्रमले हाल सातै प्रदेशका १९ जिल्लामा रहेका २५ सेवा केन्द्रमार्फत सेवा सञ्चालन गर्दै आएको छ । यात्रामा आनि छोइङ डोल्मा अध्यक्ष रहेको फाउन्डेसनको सहयोग रहेको छ । गायिका आनि छोइङ डोल्मा स्वयं पनि यात्रामा सहभागी हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय