सुजल श्रेष्ठ
प्यूठान । मल्लरानी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । बुधबार जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमका बीच पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
चालु आर्थिक वर्ष २०८२।०८३ मा पालिका भित्रका एक सय ५९ बालबालिकाले पूर्ण मात्रा खोप लगाएको जनस्वास्थ्य अधिकृत सन्तना गौतमले बताउनुभयो । पालिका भित्र रहेका पाँच वटै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरि गाउँपालिकालाई घोषणा गरिएको हो ।
कार्यक्रममा जिल्ला खोप समन्वय समिति प्युठानका प्रमुख एवं जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले मल्लरानी गाउँपालिकाले आगामी दिनमा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणाको लागि अघि बढ्न सुझाव दिनुभयो । उहाँले आगामी निति तथा कार्यक्रम र योजनामा स्वास्थ्यलाई प्राथमिकतामा राख्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेशबाबु श्रेष्ठले मल्लरानी गाउँपालिकामा रहेका स्वास्थ्यका सूचकहरु धेरे माथि रहेको बताउनुभयो । उहाँले पूर्ण खोप सँगै पूर्ण संस्थागत सुत्केरी, कुपोषण निवारण लगायतका कार्यक्रममा समेत पालिकाले योजना बनाउनुपर्ने बताउनुभयो ।
उहाँले दिगो विकास लक्ष्यका आधारहरु बाल मृत्युदर, शिसु मृत्युदर, एक वर्ष मुनिका बालबालिकाको मृत्युदर घटाउने लक्ष्य पुरा गर्न पूर्ण खोप अभियानले सहयोग पुगेको बताउनुभयो । उहाँले नेपालमा विक्रम संवत २०७२ सालदेखि प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै आएको जानकारी दिनुभयो ।
“अहिले पनि एक हजार जना बच्चा जन्मिदा २१ जना बच्चा २८ दिन नपुगी मृत्यु हुन्छ,” उहाँले नेपालको तथ्याङ्क प्रस्तुत गर्दै भन्नुभयो,“एक हजार जना जन्मिएका बच्चा मध्ये २८ जना बालबालिका एक वर्ष मुनि मृत्यु हुन्छ ।” प्रति हजारमा ३२ जना बालबालिकाको पाँच वर्ष मुनि मृत्यु हुने गरेको उहाँले बताउनुभयो । पूर्ण खोपबाट यी मृत्युदरलाई ५० प्रतिशत घटाउन सकिने स्वास्थ्य कार्यालय प्रमुख श्रेष्ठको भनाई छ ।
पालिका स्तरीय खोप समन्वय समितिका संयोजक तथा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रमेश कुमार श्रेष्ठको स्वागत र सञ्चालन जनस्वास्थ्य अधिकृत रेशम भुसालले गर्नुभएको थियो । कार्यक्रममा पालिकाका पाँच वटै वडालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।


S.K. Creative Media Group