दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल स्काउटको ७५ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्र निर्माण, सामाजिक सेवा तथा युवा नेतृत्व विकासमा नेपाल स्काउटले पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभएको छ ।
उहाँले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमार्फत राष्ट्र निर्माणमा समर्पित नागरिक तयार गर्ने उद्देश्यका साथ नेपालमा वि.सं. २००९ सालदेखि स्काउट अभियान सञ्चालन हुँदै आएको उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले नेपाल स्काउटले व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, अनुशासन, साहस, आत्मनिर्भरता तथा सेवाभावको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ ।`सधैँ तयार´भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै स्काउटले समाज रुपान्तरणकालागी सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याएको उहाँको भनाइ छ ।
शुभकामना सन्देशमा विद्यालय तथा समुदायस्तरमा असल नागरिक, जिम्मेवार नेतृत्वकर्ता तथा राष्ट्रप्रति समर्पित जनशक्ति निर्माणमा नेपाल स्काउटले निरन्तर प्रेरणा दिँदै आएको उल्लेख गरिएको छ ।
स्वयंसेवा, सहकार्य, सामाजिक सद्भाव र विविधताप्रति सम्मानको भावना विकास गरी युवाहरूलाई सक्षम र उत्तरदायी नागरिकका रूपमा स्थापित गर्न स्काउटको भूमिका उल्लेखनीय रहेको मुख्यमन्त्री आचार्यले बताउनुभएको छ ।
प्राकृतिक विपद्, महामारी तथा अन्य मानवीय संकटका समयमा स्काउटका स्वयंसेवकहरूले उद्धार, राहत वितरण, जनचेतना अभिवृद्धि, रक्तदान, सरसफाइ तथा सामुदायिक सेवामा पुर्याएको योगदान अत्यन्त प्रेरणादायी रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
भूकम्प, बाढी-पहिरो, आगलागी तथा कोभिड-१९ महामारीका समयमा स्काउटका युवाहरूले देखाएको समर्पणले स्वयंसेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको सन्देशमा जनाइएको छ ।
यसैगरी वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण, वृक्षारोपण, सरसफाइ अभियान, लैङ्गिक समानता, समावेशिता, शान्ति स्थापना तथा दिगो विकास लक्ष्य प्राप्तिमा पनि नेपाल स्काउटले महत्वपूर्ण भूमिका खेल्दै आएको मुख्यमन्त्री आचार्यले बताउनुभएको छ ।
लुम्बिनी प्रदेश सरकारले युवा तथा बालबालिकाको सर्वाङ्गीण विकास, स्वयंसेवी भावना अभिवृद्धि, विपद् व्यवस्थापन तथा सामाजिक रूपान्तरणमा नेपाल स्काउटले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्ने उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि स्काउटले आफ्नो गौरवशाली इतिहासलाई थप सुदृढ बनाउँदै राष्ट्र निर्माण र सक्षम युवा नेतृत्व विकासमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।


S.K. Creative Media Group