पोखरा । वर्षाका कारण पोखराका ३ ठाँउमा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको छ । पोखरामा एकै घर परिवारका छोरी ज्वाई सहित ७ जनाको पहिरोले पुरिएर मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिसपी बसन्त कुमार शर्माले जानकारी दिनुभयो ।
पोखरा १९ पुरुनचौरमा एकै घरका ७ जनाको मृत्यु भएको हो भने पोखरा ३२ चैतपुर बाह्रबिसेमा ३ जनाको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पोखरा १९ पुरुनचौर तल्लोकोटका कुल बहादुर परियार र उहाँको छोरी ज्वाई चितवन निवासी २५ बर्षका अस्मित परियारको पहिरोमा परि मृत्यु भएको छ ।
घर भन्दा केही माथिबाट आएको पहिरोमा परी ४६ बर्षका तुल बहादुर सहित उहाँकी श्रीमती मनकुमारी परियार, आमा ८५ बर्षकी लक्ष्मी परियार, १५ बर्षकी छोरी प्रशना परियार, चितवन घर भई माइत आएकी छोरी प्रभा परियार, ज्वाई अस्मित परियार मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसै गरी ५६ बर्षकी राधिका परियारको समेत पहिरोमा परी मृत्यु भएको सूचना अधिकारी शर्माले बताउनुभयो । घटनामा परी छोरा पवन परियार र स्थानिय कुमार परियार घाइते भएका छन् ।
यसैगरी पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदी, ११ वर्षीया अनुस्का ओझा मृत्यु भएको छ ।
यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङको मृत्यु भएको छ । ओमबहादुर गुरुङलाई सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।



S.K. Creative Media Group