दैलेख । दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ निवासी ४१ वर्षीय रने सार्की रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा सोमबार बिहान ८ः५६ बजे मृत्यु भएको हो ।

प्रहरीका अनुसार सोमबार बिहान करिब ५ः३० बजे कालिकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेततर्फ लैजाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

दुर्घटनामा जीप चालक कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ निवासी २२ वर्षीय योगेश सिंखडा, सोही ठाउँका १८ वर्षीय गंग सार्की र २१ वर्षीय तपेन्द्र सिंखडा गम्भीर घाइते भएका छन् ।

त्यस्तै, सान्नीत्रिवेणी गाउँपालिका–६ निवासी ३६ वर्षीया जादुकाल सार्की र २७ वर्षीया कैसी सार्की पनि गम्भीर घाइते भएका छन् । घाइतेमध्ये कैसी सार्की विषादी सेवन गरेकी बिरामी रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई तत्काल उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय