काठमाडौं । हिजो बिहान करिब ३ बजेतिर मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा सडक माथिबाट लेदोसहितको झरेको पहिरोमा परेर त्रिशूली नदिमा बेपत्ता भएका दुई वटा बस र उक्त बस सवार रहेका यात्रुको अवस्था अझै पत्ता लागेको छैन ।

लेदो सहित आएको पहिरोले बगाएको दुई बसको खोजी भैरहेपनी अझैसम्म भेला नपरेको खोजी कार्यमा संलग्न प्रहरी टोलीले जनाएको छ । हिजो दिनभर खोजी कार्य तिब्र पारिएपनि बस नभेटिएपछि राति खोजी कार्य स्थगित गरिएको थियो । आज सनिवार बिहानैदेखि पुनः खोजी कार्य थालिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनास्थलबाट गोताखोर टोलीले तीन, चार किलोमिटर तलसम्म खोजतलास गर्दा पनि पहिरोले बगाएको बस नभेटिएको जानकारी दिनुभयो । उहाँले नदीमा पानीको प्रवाह उच्च र धमिलो भएका कारण खोज्न समस्या भएको बताउनुभयो ।

बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । उहाँकाअनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा हिजो बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिराले त्रिशूलीमा बगाएको थियो । दुवै बसमा गरेर कम्तिमा ५५ जना यात्रु रहेको अनुमान गरिए पनि बस र यात्रु फेला नपरेकोले यकिन विवरण प्राप्त भैनसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको खुलेको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको संख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ । गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार थिए । दुई वटा बसमा सवार कम्तीमा ५५ यात्रुको अवस्था अझैसम्म अज्ञात छ ।

गणपति डिलक्सबाट हाम फालेर बच्न सफल ३ जना प्रहरीको सम्पर्कमा रहेका छन् । हाम फालेका मध्ये रौतहटको देवाही गोनाहि नगरपालिका–१ घर भएका ३० वर्षीय नन्द दास, राजदेवी नगरपालिका–९ घर भएका ४५ वर्षीय जोगेश्वर राय यादव र गण्डमाई नगरपालिका–३ घर भएका २६ वर्षीय सुरज गुप्ता रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका सुरज गुप्ता अस्पतालबाट डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । डिस्चार्ज भएका सुरज गुप्ता अहिले भरतपुर विमानस्थल नजिक आफन्तकोमा रहेको बताइएको छ। अन्य दुई जना घाइतेहरु नन्द दास र जोगेश्वर राय यादवको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय