खलंगा । जिल्लाको धार्मिक तीर्थस्थल तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको झाक्रिस्थान मन्दिर क्षेत्रमा स्व.आमाबुबाको स्मृतिमा शाह परिवारले निर्माण गरेको पिकनिक स्थलको उद्घाटन गरिएको छ ।
जिल्लाको मल्लरानी गाउँपालिका- ४, स्थित भन्झ्याङ निवासी स्व.बुवा रणबहादुर शाह र आमा मन कुमारी शाहको स्मृतिमा छोराहरु क्रमश भुपेन्द्र बहादुर शाह, राई बहादुर शाह र चन्द्र बहादुर शाहले सदरमुकाम खलंगा नजिक रहेको धार्मिक तीर्थस्थल झाक्रिस्थान मन्दिर परिसरमा निर्माण गर्नुभएको हो । 
पिकनिक स्थलको लुम्बिनी प्रदेशसभा सदस्य धनलक्ष्मी श्रेष्ठले एक समारोहकाबीच उद्घाटन गर्नुभएको छ । उद्घाटन गर्दै प्रदेशसभा सदस्य श्रेष्ठले आमाबुबाको सम्झनामा अन्य खर्च गर्नुभन्दा पाटिपौवा, प्रतिक्षालय, धारो, बिद्यालय निर्माणले जनतालाई सहज हुने बताउनुभयो । शाह परिवारले मन्दिर क्षेत्रमा पिकनिक स्थलको निर्माण गरेकोमा प्रदेशसभा सदस्य श्रेष्ठले प्रसंशा गर्नुभयो ।
मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले धार्मिक तीर्थस्थल झाक्रिस्थान मन्दिरमा पिकनिक स्थल निर्माणले जनतालाई सहजता हुने बताउनुभयो । झाक्रिस्थान मन्दिरको निकै धर्मिक महिमा रहेको र पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकोले यस क्षेत्रको बिकासमा शाह परिवारले गरेको कार्य सकारात्मक भएको बताउनुभयो । गाउँपालिकाले यस क्षेत्रको बिकासमा थप पहल थाल्ने उहाँले बताउनुभयो । 
छोरा चन्द्रबहादुर शाहका अनुसार बुवाआमाको स्मृतीमा बनाइएको पिकनिक स्थलमा करिब पौने चार लाखको लागत बराबरको लगानीमा निर्माण गरिएको बताउनुभयो। शाहले भन्नुभयो,‘निर्माण भएको पिकनिक स्थलको त्यहाँ पुग्ने दर्शनार्थीबाट भरपूर्ण उपयोग हुनेमा हामी विश्वस्त छौँ ।’ सामाजिक कार्यप्रति नागरिकहरुको चासो कमहुँदै गइरहेका बेला शाह परिवारले बनाएको लाखौँको संरचनाले स्थानीय उत्साहित छन् । 
छोरा भुपेन्द्र भारतीय प्रहरीमा, राइ बहादुर गाउँमै खेती किसानी गर्नुहुन्छ, भने चन्द्र शाह पेशाले सरकारी इञ्जिनियर हुनुहुन्छ । उहाँ हाल सडक पूर्वाधार विकास कार्यालय प्यूठानका कार्यालय प्रमुख हुनुहुन्छ ।




S.K. Creative Media Group