वासदेब गिरी
प्यूठान । प्रतिनिधि सभा सदस्य सूर्य थापाले झिमरुक गाउँपालिका-६, मर्काबाङ्गमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्नु भएको छ । सोमबार विद्यालयले आयोजना गरेको स्वर्ण महोत्सव कार्यक्रमको प्रतिनिधि सभा सदस्य थापाले उद्घाटन गर्नु भएको हो ।
प्रतिनिधि सभा सदस्य थापाले खस्कदै गएको नतिजा सुधार गर्न कहाँनेर कसको कमजोरी हो त्यो बिषयमा जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्य थापाले सामुदायिक विद्यालयको नतिजा र गुणस्तर सुधार गर्न सबै पक्ष बीच समिक्षा गरि सुधार गर्नुको विकल्प नरहेको बताउनुभएको हो ।
पछिल्लो समय जिल्लाको शैक्षिक नतिजा खस्कनुको पछाडीको कारण पहिचान गर्दै, शिक्षक शिक्षिकाले आफ्नो भूमिका बढाउनुपर्ने उहाँले बताउनुभयो । शिक्षा सुधारका सम्पुर्ण विकल्पहरु अघि बढाउन सबै पक्षा जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । ‘प्यूठान जिल्लाको गएको बर्षको एसइइको नतिजा हेर्ने हो भने निकै कमजोर छ,’ उहाँले भन्नुभयो,‘जिल्लाको खस्किएको एसइइको नतिजा सुधार गर्न जरुरी देखिन्छ ।’
‘कुनैपनी हिसाबले शैक्षिक सुधारमा शिक्षक शिक्षिकाहरु गैरजिम्मेवारी बन्नु मिल्दैन’ उहाँले भन्नुभयो,‘शिक्षक शिक्षिका जिम्मेवार भएन भने धेरै बालबालिकाको भविष्य समेत अन्धकार हुनेछ ।’ त्यसको लागि बालबालिकाको भविष्य निर्माण गर्न शैक्षिक सुधारको लागि समयमै ख्याल गर्नुपर्ने बताउनुभयो । आगामी शैक्षिकसत्रमा परिणाम देखिने गरि लाग्नुपर्ने बताउनुभयो । ‘शिक्षकको कारणले विद्यार्थीको भविष्य अन्योल बन्नुहुदैन’ उहाँले भन्नुभयो,´शिक्षकहरु राजनीतिक खोल ओडेर विद्यार्थीको भविष्य वर्वाद पार्ने कसैलाई छुट छैन ।’ कुनै पनि बर्को ओडेर खेलबाड नगरौं सबै सचेत बन्न आग्रह गर्नुभयो ।
समाजको बहुआयामीक क्षेत्रमा नेतृत्व गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गर्दै शैक्षिक क्षेत्रमा राम्रो बाताबरण निर्माण तयार गर्नुपर्ने आवस्यकता रहेको उहाँले औल्याउनुभयो । ‘त्यसको लागि एउटा शिक्षक, शिक्षिकाको महत्त्वपूर्ण भुमिका हुन्छ ।’ उहाँले भन्नुभयो,
‘अझैपनी शैक्षिक सुधारको लागि पहल गरिएन भने विद्यार्थीको भविष्य अन्योल र शैक्षिक बेरोजगार बढेर जानेछ । दरबन्दीको हिसाबले हेर्ने हो भने सामुदायिक बिद्यालयमा पर्याप्त देखिन्छ । तर शैक्षिक गुणस्तर खस्केको देखिएको छ ।’
बिद्यालयमा शिक्षकका शिक्षण विधि र पठनपाठनका क्रियाकलापलाई प्रविधसँग जोड्न जरुरी रहेको थापाको भनाई छ । ‘विद्यार्थीको मनोभावना अनुसार कक्षाकोठाको सजावट, सरसफाइ र प्रविध युक्त बनाउनु आवश्यक छ।’ उहाँले भन्नुभयो, ‘अवको शिक्षालाई व्यवसायिक रोजगारमुखी बनाउनुपर्छ ।’ विद्यार्थीले बिद्यालयमा पढ्दै कमाउदै गर्ने स्वरोजगार हुनेगरी व्यवसायिक र शिपमुलक शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभयो । विद्यालयमा पूर्ण शैक्षिक वातावरण निर्माणकालागि विद्यालय परिवारले भूमिका बढाउनुपर्ने, त्यसका लागी तीन तहका सरकारले आवस्यक पहल गरि सहयोग गर्न तयार रहेको बताउनुभयो।
त्यस्तै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी र विद्यालयप्रति अभिभावक जिम्मेवार हुनुपर्ने गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । उपाध्यक्ष पोख्रेलले विद्यार्थीको पढाई प्रति रुची घट्दै गएको प्रती चिन्ता व्यक्त गर्दै उहाँले विद्यालयमा पठनपाठनको वातावरण बनाईराख्न अभिभावकले आफ्ना बालबालिकाको कहाँ के गरिरहेको छ भनी नियमित निगरानी राख्नुपर्ने बताउनुभयो ।
‘हाम्रा बालबालिकाहरु बढाइमा भन्दा सामाजिक सञ्जाल र मोबाइलको लतले जरा गाडेको छ,’ उहाँले भन्नुभयो, ‘यसले शिक्षण सिकाईमा ठूलो असर पारेको छ ।’ अभिभावकले आफ्ना छोराछोरीको आनिवानी र साथसंगतलाई निगरानी गर्नुपर्ने बताउनुभयो ।
सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि सामुदायिक विद्यालयका शिक्षक अभिभावक र विद्यार्थीहरुले पनि आफ्नो भूमिकाको आफै मुल्यांकन गर्दै अगाडि बढ्नुको विकल्प नरहेको शिक्षा शाखा प्रमुख मोहन बिसीले बताउनुभयो । सबै शिक्षक विद्यार्थी र अभिभावकले आफ्नो विद्यालयको नतिजा कस्तो छ ? किन यस्तो भयो भनेर घोत्लिएर आफुले आफुलाई स्वमुल्यांकन गर्दै नतिजामा सुधार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा झिमरुक गाउँपालिका पुर्व अध्यक्ष तिलक बहादुर जिसी, नेकपा एमाले जिल्ला पार्टी सचिब इन्द्रमणी पोख्रेल, राष्ट्रिय जनमोर्चा प्युठान अध्यक्ष ज्ञामुराम न्यौपाने, वडा नम्बर ८ का वडा अध्यक्ष तुलस बहादुर बस्नेत, नेपाली कांग्रेस झिमरुक सभापति मिनराज भट्टराई, अभिभावक लोक बहादुर नगरकोटी विद्यार्थी लगायतले स्वर्ण महोत्सवको सफलता शुभकामना व्यक्त गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर पुनको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाको प्रमुख आतिथ्यतामा विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गरिएको थियो । बिद्यालयका शिक्षक माधब पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन प्रधानाध्यापक बिनोद पोख्रेल र शिक्षक कमल नगरकोटीले गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट सिकाई उपलब्धि हासिल गर्ने शिक्षक, शिक्षिका, चन्दादाता, सहयोगदाता, पुर्व प्रधानाध्यापक, शिक्षक पुर्व अध्यक्ष अभिभावक लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा मनोरञ्जन प्रदान गर्न स्थानीय कला संस्कृती झल्काउने गरि नाच नृत्य प्रदर्सन गरिएको थियो ।









S.K. Creative Media Group