रुपन्देही । पदयात्रालाई प्रवर्द्धन गर्ने र लुम्बिनी घुम्न स्वदेशी तथा विदेशी पर्यटक अभिप्रेरित गर्ने उद्देश्यले भैरहवा–लुम्बिनी २४ किलोमिटर बौद्ध संचार यात्रा गरिएको छ ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो १० औं स्थापना दिवसको अवसरमा बिहीबार भैरहवाको लुम्बिनी गेटदेखि लुम्बिनीस्थित मायादेवी मन्दिरसम्म संचार यात्रा गरेको हो ।

‘पर्यटनका लागि शान्ति, शान्तिका लागि संचार यात्रा’ नारासहित गरिएको दोस्रो बौद्ध संचार यात्राले लुम्बिनी क्षेत्रमा नयाँ उत्साह थपेको विश्वास गरिएको छ । भिक्षुभिक्षुणी, लामा, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, नेपाली सेना, प्रहरी, सशस्त्र र सर्वसाधारण गरी एक सय बढी पदयात्रामा सहभागी भएका थिए ।

खासगरी शान्ति, अहिंसा र पंचशीलको सन्देश विश्वमाझ फैलाउने र बुद्ध जन्स्थल लुम्बिनी, पर्यटन क्षेत्र र संचारलाई सँगैसँगै अगाडि बढाउँदा लाभ उठाउन सकिन्छ भन्ने उद्देश्य दिन संचार यात्रा गरिएको प्रेस क्लबका अध्यक्ष कमल रायमाझी बताउनुभयो ।

बौद्ध संचार यात्राले स्थानीय, प्रदेश, राष्ट्रियस्तरमा मात्रै नभई विश्वमाझ शान्तिको सन्देश फैलाउन र पर्यटन पबद्र्धनमा टेवा पुगेको उहाँको भनाई छ ।

विश्वमा मानिसहरुमा शान्ति, करुणा र मानवता हराउँदै गएको अवस्थामा कलमजीविहरुले पनि समाजमा सकरात्मक उर्जा दिनका लागि यात्रा गरिएको अध्यक्ष रायमाझीले बताउनुभयो ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धले गृहत्याग गरेदेखि हिँडेर जीवन विताएको उल्लेख गर्दै त्यहीबेलाको सन्देश बोकेर सञ्चारकर्मीहरुले पैदलयात्रा गरेकोमा धन्यवाद दिनुभयो। उहाँले बौद्ध सञ्चार यात्राले लुम्बिनी र शान्तिको सन्देशबारे सकरात्मक सन्देश दिएको समेत बताउनुभयो ।

भैरहवाको लुम्बिनी गेटबाट सुरु पदयात्रा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा पुगेको थियो । मायादेवी मन्दिरमा सहभागीलाई भिक्षु श्रीबजिरले १० मिनेट ध्यान गराएका थिए ।

महाराज शुद्धोधनका गुरु अतिशकाल देवल नवजात शिशु सिद्धार्थ बोधीसत्वलाई हेर्न आउँदा शिशु सिद्धार्थ महान गुरु बन्ने भविष्यवाणी गरेका थिए । उनै महान गुरुप्रति समर्पित भई अतिशकाल देवलले आफ्ना भान्जा नालकलाई प्रवज्जित (भिक्षु बनाएका) थिए ।

उनै भिक्षु नालक आजीवन पैदल यात्रा गर्दै धम्मदेशना गरेकाले पैदल यात्रा महत्वपूर्ण रहेको कुरा सूत्र पिटकको सुत्त निकायमा उल्लेख गरिएको छ । यसैले पनि पदयात्रा गर्न बौद्ध संचार यात्रा गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय