प्यूठान । झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले किशोरीहरुको पाठेघरको मुखमा हुन सक्ने क्यान्सर विरुद्धको खोप अभियान सफल बनाउन अनिवार्य रुपमा किशोरीहरुलाई खोप लगाउन अनुरोध गर्नुभएको छ। आइतबार पालिकाको सभाहलमा सरोकारवाला बिच भएको अभिमुखीकरण कार्यक्रममा उहाँले प्रजनन् स्वास्थ्य र पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन यहि माघ २२ गतेदेखि २७ गतेसम्म किशोरीलाई खोप अनिवार्य लगाउन अनुरोध गर्नुभएको हो।
अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष महतरा क्षेत्रीले खुशी र समृद्धिका लागि पहिलो सर्त व्यक्ति स्वस्थ हुनुपर्ने बताउनुभयो । अझै पनि रोग लुकाएर र लजाएर बस्ने चलनले महिलाहरुको स्तन र पाठेघरको मुखमा क्यान्सर जस्ता जटिल रोगहरु फैलिरहेको तर्फ बेलैमा सचेत बन्न उहाँले किशोरीलाई अनुरोध गर्नुभयो । राज्यका निकायहरुले माथिबाट तलसम्म ठोस योजना बनाएर अगाडि बढ्न नसकेसम्म हामिले सोचेजस्तो स्वस्थ नागरिक उत्पादन गर्न सकिने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले यो अभियानलाई सफल बनाउन सबैको सहकार्य एकता जरुरी रहेको बताउनुभयो।अभियानलाई सफल बनाउन आ-आफ्नो स्थानबाट सहयोगमा जुट्न सरोकारवाला पक्षलाई अनुरोध गर्नुभयो । राज्यले सबभन्दा पहिले आफ्ना नागरिकलाई स्वस्थ बनाउन सबै सरकारले स्वास्थ्य क्षेत्रमा लगानी दायरा फराकिलो बनाउनुपर्ने बताउनुभयो । खोप अभियान जसको लागि आएको हो सोही बर्गमा यो अभियानले सम्बन्धि उमेर समुहका बालबालिकालाई खोप दिने कार्यमा सबैलाई सहयोगमा जुट्न पनि उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो ।
झिमरुक गाउँपालिकामा १ हजार ४ सय ६९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन लागिएको छ । यहि माघ २२ गतेदेखि २७ गतेसम्म खोप लगाउन लागिएको झिमरुक गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख बिकास केसीले जानकारी दिनुभएको छ।
कक्षा ६ देखी १० कक्षासम्म अध्ययन गर्ने १ हजार ४ सय ६७ जना र समुदायमा छुटेका १० देखि १४ वर्ष उमेर सम्मका २ जनालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख केसीले जानकारी दिनुभयो । पालिकाको १९ वटा विद्यालयमा र ८ वटा स्वास्थ्य संस्था गरि २७ वटा खोप केन्द्रबाट खोप लगाउने तयारी गरिएको स्वास्थ्य शाखा प्रमुख केसीले जानकारी दिनुभएको छ।
पाठेघरको मुखको क्यान्सर हुन बाट बचाउन सरकारले तीन चरणको रणनिती बनाएको छ । पहिलो चरणमा खोप, दोस्रो चरणमा परीक्षण र तेस्रो चरणमा उपचार बिधीलाई लिएको छ । परीक्षण बिधीलाई प्रभावकारी बनाउन सकेमा पाठेघरको मुखको क्यान्सर रोगबाट हुने मृत्युदरलाई कम गर्न सकिने स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो । केही समस्या वडाबाट आएको बालबालिकाको तथ्यांकमा रहेको रहेछ भने पनि हामी अझै करेक्सन गर्ने काम गरिरहेका छौँ । उहाँले भन्नुभयो, “सहि लक्ष्य प्राप्तिको लागि करेक्सनमा बिद्यालय, स्वास्थ्यकर्मी र स्वयंसेविका फिल्डमा खटेकाछौ।” लक्ष्यित बर्गको तथ्यांक सहि आओस् भन्नेनै हाम्रो उदेश्य रहेको उहाँले बताउनुभयो ।
३० देखी ४९ वर्ष उमेर समुहका महिलाले परीक्षण गर्न सक्छन । एक पटक परिक्षण गरेपछि ३ वर्षसम्म गर्न नपर्ने स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो । सन २०३० सम्म ९० प्रतिशत पुर्याउने लक्ष्य राज्यको रहेको छ । पालिका स्तरीय खोप समन्वय समितीका पदाधिकारी सरोकारवाला लागि अभिमुखीकरण तथा पत्रकार एवं संचारकर्मीहरुको लागि यो कार्यक्रम गरिएको हो ।
कार्यक्रमकओ सहजीकरण स्वास्थ्य शाखा प्रमुख बिकास केसी र उप संयोजक हरि जिसीले गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेविका, शिक्षक पत्रकार, संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो।






S.K. Creative Media Group