दाङ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सीप सहितको शिक्षा अहिलेको अपरिहार्यता भएको बताउनुभएको छ । शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीको सातौं वार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख अतिथि नगर प्रमुख चौधरीले सीप सहितको शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको हो ।
उहाँले हाम्रो जस्तो मुलुकले विकासको गतिलाई प्रभावकारी बनाउन प्राविधिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘हामीलाई अहिले प्राविधिक जनशक्ति निकै चाहिएको छ, युवाहरुलाई रोजगारी र स्वरोजगारमा लगाउनका लागि प्राविधिक शिक्षाको महत्वपूर्ण योगदान हुन्छ,’ चौधरीले भन्नुभयो, ‘हामीले समयअनुकूल शिक्षाको प्रणालीलाई सुधार गर्नुपर्छ ।’ अहिले युवाहरुमा विदेश पलायन हुने मनोविज्ञान निकै हावी भएको उल्लेख गर्दै उहाँले युवाहरुलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने भावको विकास गराउनुपर्नेमा जोड दिनुभयो ।
‘विदेशमा गएर जस्तोसुकै काम गर्न तयार हुने तर स्वदेशमा श्रम गर्न लाज मान्ने प्रवृत्ति छ, यसलाई हामी सबै मिलेर रोक्न जरुरी छ,’ चौधरीले भन्नुभयो, ‘अर्को कुरा युवाहरुमा नकारात्मकता निकै हावी भएको छ, सकारात्मक र रचनात्मक सोचको विकास गर्न हामीले युवाहरुलाई प्रेरित गर्नुपर्छ ।’
शिक्षालयका प्रमुख मोतिलाल चौधरीले शिक्षालयमा हाल फरेस्ट्री, प्लान्ट साइन्स, आर्किटेक्चर, फार्मेसी, होटल म्यानेजमेन्ट, फुड एण्ड डेरी, रेडियोग्राफी र ल्याब टेक्निसियन गरेर कुल आठ ओटा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।



S.K. Creative Media Group