प्यूठान । लुम्बिनी प्रदेश सभा सदस्य तुल्सीराम शर्माले उपभोक्ताले आफ्नो अधिकारको बारेमा जानकारी राख्ने मात्र नभएर त्यसको कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी शर्माले उपभोक्ता सचेत भएमा धेरै समस्या हल हुने बताउनुभयो ।

प्रदेश सभा सदस्य शर्माले उद्योगी व्यवसायीका समस्या आफूले विभिन्न कार्यक्रममा सुनेको र समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो । संघले कतिपय कानुन नबनाउदा उद्योगी व्यवसायीले समस्या व्यहोर्नु परेको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले उद्योग सञ्चालनका लागि ऐन पारित गरेको बताउनुभयो ।

कार्यक्रममा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले उद्यमीहरुको विकास र संरक्षणका लागि गाउँपालिकाले प्रयास गरिरहेको बताउनुभयो । उहाँले जिल्लाको चिनारीको रुपमा रहेको चुलेसीको संरक्षण तथा प्रर्वद्धनका लागि पालिकाले बजेट विनियोजन गरेर काम गरिरहेको बताउनुभयो । यद्यपी उद्यमीहरुलाई उद्यम व्यवसायलाई निरन्तरता दिन नसकिरहेको औल्याउनुभयो । केहि समय उद्यम व्यवसायमा टिकेपनि लामोसमयसम्म व्यवसायमा टिक्ने वातावरण बन्न नसकेको बताउनुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका सदस्य नेगन सिंह कुवरले तिनै तहका सरकारले उद्यमी व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रम नल्याएको गुनासो गर्नुभयो । सरकारले व्यवसायलाई उत्प्रेरणा दिन नसकेपनि संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका निमित्त प्रमुख मनि बहादुर गुरुङले उपभोक्ता अधिकार सम्वन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्यूठान उद्योग वाणिज्य संघको समन्वय, घरेलु तथा साना उद्योग कार्यालय प्यूठानको सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघ प्यूठानले कार्यक्रम आयोजना गरेको हो ।

महासंघका अध्यक्ष नविन प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मी श्रेष्ठ र सञ्चालन सचिव बसन्त शर्माले गर्नुभएको थियो । महेन्द्र माध्यमिक विद्यालय अगाडीदेखी र्याली सहितको टोली जिल्ला समन्वय समितिको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।



S.K. Creative Media Group