प्युठान । प्युठानको झिमरुक गाउँपालिका-६, थारुखर्कमा रहेको बाल सुधार प्राथमिक विद्यालयको ४ कोठे पक्की भवनको शिलान्यास गरिएको छ । मंगलबार बाल सुधार प्राथमिक विद्यालय थारुखर्कमा ४ कोठे पक्की भवनको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष महतरा क्षेत्रीले शैक्षिक गुणस्तर कायम गर्न भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । त्यस्तै अध्यक्ष महतरा क्षेत्रीले शिक्षा निःशुल्क सँगसँगै गुणस्तरीय र व्यावहारिक हुनुपर्ने कुरामा जोड दिदै त्यसको लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रको सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकहरुको त्रिपक्षीय सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो ।
शिक्षा स्वास्थ्य क्षेत्र महत्त्वपूर्ण भएकोले यस क्षेत्रमा बढी लगानी गर्दै आएकाे बताउनुभयो । गाउँपालिकाले शिक्षालाई प्राथमिकता राखेकाे हुँदा सबै विद्यालय क्याम्पसमा आवश्यकता अनुसार भौतिक पुर्वाधार विकास निर्माण लगायत समग्र शैक्षिक गुणस्तरको कार्यमा लगानी गर्दै आएको उहाँले बताउनुभयो ।
यसकाे विद्यालयकाे भाैतिक संरचना जीर्ण हुँदै जाँदा गाउँपालिकाे ध्यानाकर्षण भएको बताउँदै विद्यालयकाे चाैतर्फी विकास सहयोग गर्ने अध्यक्ष एमसीले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । शैक्षिक संस्था सबैकाे साँझा ज्ञानको मन्दिर भएकोले यसकाे विकासमा सबैको सहकार्य आवश्यकता रहेको बताउनुभयो ।
शिलान्यास गरिएको उक्त बिद्यालय भवनको एक तलाको ४ वटा कोठा, सौचालय सहित अपांग मैत्री सुबिधा सम्पन्न भवन निर्माण गरिने पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अशोक जिसीले जानकारी दिनुभयो । आगामी २०८२ जेठ मसान्तसम्म कार्यसम्पन्न हुने गरी पालिकाको ६० लाख र जनश्रमदान १५ लाख हजार गरि जम्मा ७५ लाख रुपैयाँमा उपभोक्ता समिति मार्फत निर्माण कार्य गर्ने सम्झौता भएको उहाँको भनाई छ ।
विद्यालयका प्रधानाध्यापक सरद जिसीले भवनकाे अभाव भएकोले पालिकाले बजेट ब्यवस्था गरि निर्माण हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो । भाैतिक संरचना सँगसँगै बिद्यालयमा रहेको फर्निचर, खानेपानी, लगायतका समस्या र शैक्षिक गुणस्तरलाई मध्यनजर गर्दै व्यवस्थापनमा जोड दिन अनुरोध गर्नुभयो ।
शिलान्यास कार्यक्रममा पूर्वाधार विकास तथा भवन नियमन शाखा प्रमुख इन्जिनियर अशोक जिसीले, सब-इन्जिनियर नगेन्द्र आचार्य, जनप्रतिनिधि, बिद्यालयका प्रधानाध्यापक सरद जिसी, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, शिक्षिका, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।






S.K. Creative Media Group