झिमरुक । प्युठानको झिमरुक गाउँपालिकाले स्थानीय अगुवा तथा व्यवसायी कृषकहरुलाई दुई दिने तालिमको आयोजना गरेको छ । मंगलबार गाउँपालिका भित्रका अगुवा कृषकहरुलाई लहरे तरकारी बाली अन्तर्गत मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने तरिका सम्बन्धि २ दिने स्थलगत तालिम सुरु गरिएको हो ।

झिमरुक गाउँपालिकाको नमुना कृषि प्रदर्शनी केन्द्रमा स्थलगत तालीम सुरु गरिएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । तालिमको उद्घाटन गर्दै अध्यक्ष महतरा क्षेत्रीले कृषिका क्षेत्रमा किसानले उत्पादन गरेको उत्पादित बस्तुको बजारीकरणमा देखिएको समस्यालाई हल गर्ने र उत्पादित बस्तुलाई पालिकाले उचित मूल्य निर्धारण गर्न पहल गर्ने बताउनुभयो । व्यवसायीक रुपमा खेती गर्ने किसानलाई अनुदानको ब्यवस्था गरेर कृषिलाई प्रबर्द्धन गर्दै लैजाने उहाँले बताउनुभयो । अब परम्परागत कृषि प्रणालीलाई परिमार्जन गर्दै आयआर्जन सँग जोडेर आत्मनिर्भर बनाउने उहाले बताउनुभयो ।

 

तलिमको उद्घाटन कार्यक्रम बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाहीले तालिमबाट सिकेका सीप ब्यवहारमा लागुगर्न सकेमात्र तालिमको औचित्य पुष्टि हुने भएकोले तालिममा सिकेका ज्ञान शिपलाई ब्यवहारमा लागू गर्न सहभागी कृषकलाई आग्रह गर्नुभएको थियो ।

पालिकाका आठै वडाका २५ जना अगुवा तथा व्यवसायी कृषकहरुको सहभागिता रहेको थियो । जसमध्ये पुरुष ७ जना र १८ जना महिला कृषकहरुको तालिममा सहभागिता रहेको कृषी शाखाका कृषी प्राविधिक विविध भट्टराईले जानकारी दिनुभयो ।

दुई दिने तालिममा कृषकलाई सैद्धान्तिक र प्रयोगात्मक तरिकाले तालिमको सहजीकरण गरिने कृषि शाखामा कार्यरत कृषि अधिकृत तृसना जिसीले जानकारी दिनुभयो । लहरेबाली अन्तर्गत करेला, लौका, काक्रो र जुकेनी फर्सीलाई उत्पादनमा वृद्धि गराउन रोप्ने समय खेतबारी खनजोत मल र किटाणुबाट बचाउने तरिका लगाएतको बारेमा जानकारी दिएको कृषि अधिकृत जिसीले बताउनुभयो ।

अन्य बालीहरुमा अकवरे खुर्सानी, भाण्टा लागाएतको बिरुवा उत्पादन र नर्सरीको बारेमा कृषकलाई जानकारी दिइने कृषी अधिकृत जिसीले जानकारी दिनुभयो । भोलिसम्म चल्ने पालिकाको सहजीकरण कृषि अधिकृत तृसना जिसी, कृषी प्राबिधिक विविध भट्टराई र गिरिराज पोख्रेलले गर्नुहुने पालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय