
प्यूठान । नौबहिनी गाउँपालिकाले कृषकलाई व्यवसायिक तरकारी खेती सम्बन्धि स्थलगत तालिम संचालन गरेको छ । गाउँपालिकाले सबै वडाका ब्यवसायीक तरकारी खेती गर्न चाहाने किसानलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउने उदेश्यले तालिम दिएको हो ।
यहि माघ १४ गतेदेखि प्रत्येक वडामा १ दिने कृषकलाई व्यवसायिक तरकारी खेती सम्बन्धि स्थलगत तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले जानकारी दिनुभयो। पालिकाका कृषि प्राबिधिकहरु ८ वटै वडाबस्तीमा पुगेर स्थलगतरुपमै किसानको समस्या बुझ्ने र परम्परागत तरकारी खेतीपाती गर्ने परम्परालाई आधुनिक र प्रबिधि युक्त बनाई निर्वाहमुखीबाट आयआर्जन मुखी बनाउन यो तालिमले सहयोग पुग्ने अध्यक्ष थापाले बताउनुभयो ।
यो तालिमले किसानलाई ब्यवसायीक तरकारी खेतीमा आकर्षण गराउदै आत्मनिर्भर बनाउने र खेती गर्ने प्राविधिक सीप हस्तान्तरण गर्दै स्थानीय रुपमा मौसमी तथा बेमौसमी तरकारी खेती प्रती आक्रषण बढाउन सहयोग पुग्ने कृषि शाखा प्रमुख सन्तोष बिकले बताउनुभयो ।
कृषि प्राविधिकहरु कृषकहरुको खेतबारी स्थलगत रुपमै पुगेर मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने तरिका, बिरुवा उत्पादन गर्न नर्सरी तयारी कसरी गर्ने, नर्सरी ब्यवस्थापन, कम्पोष्ट मल बनाउने तरिका, तरकारी खेतिमा लाग्ने रोग प्रकोप, किरा नियन्त्रण लगाएतका महत्त्वपूर्ण बिषयमा प्रयाेगात्मक तथा शैद्वान्तिक रुपमा जानकारी दिएको बिकले बताउनुभयो । गाउँबस्तिमै तरकारी खेतिबारे जानकारी पाँउदा स्थानीय कृषकहरु हौसिएका छन् ।