गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन ।

स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ आउँदै गरेको बा.अ. ०२२० नम्बरको स्कारपियो आइतबार सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी स्याङ्जाको वालिङ नगरपालिका–२ निवासी स्कारपियो चालक ६७ वर्षीय दिलीपकुमार बागले, वालिङ नगरपालिका–१० निवासी ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सोही ठाउँकी सीता पाण्डे र कुलानन्द पाण्डेको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै, स्याङ्जाको वालिङ नगरपालिका–२ निवासी निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डेको कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा उपचार भइरहेको छ । सोही ठाउँकी अन्दाजी ५० वर्षीया गोमता पाण्डेको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, स्याङ्जाको वालिङ नगरपालिका–१० निवासी बालकृष्ण सुवेदीको कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय