प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले प्राबिधिक कर्मचारीलाई सफ्टवेयर अटो क्याड लगायतको तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा तालिम सुरु भएको हो । आजदेखि गाउँपालिकाको सभाहलमा सुरु भएको तालिम १४ दिनसम्म चल्नेछ। तालिमको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।
सो तालिममा पालिकामा कार्यरत ११ जना प्राबिधिक कर्मचारी सहभागी रहेको तालिम संयोजक सित्तल आचार्यले जानकारी दिनुभयो । तालिममा पालिकाको भौतिक पुर्वाधार तथा भवन नियमन शाखा अन्तर्गत कार्यरत प्राबिधिक कर्मचारीलाई सफ्टवेयर, अटो क्याड, लगायतको बिषयमा तालिम संचालन हुने संयोजक आचार्यले जानकारी दिनुभयो । तालिमको सहजीकरण इन्जिनियर अशोक जिसीले गर्नुहुने छ । समय व्यवस्थापनको लागि अफिस समय भन्दा अन्य समय मिलाइ बिहान र बेलुकाको समय उपयोग गर्दै तालिम संचालन गरिने पालिकाले जनाएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले तालिमले कर्मचारीको वृद्धि बिकासमा सहयोग पुग्ने बताउनुभयो । यो समय महत्वपूर्ण र व्यस्त भएकोले समय ब्यवस्थापन गर्दै तालिम लिएर दक्षता हासिल गर्नुपर्ने बताउनुभयो । प्राबिधिक कर्मचारीले आफुलाई समयानुकूल नयाँ प्रविधिको प्रयोगमा जोड दिदै जानुको विकल्प नरहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष प्रमोद पोख्रेल र प्रमुख प्रशासकीय अधिकृत बिकास केसीले तालिमबाट सिकेका सीप व्यबहारमा लागुगर्नु पर्नेमा सहभागीलाई आग्रह गर्नुभयो । उहाँहरुले प्राबिधिक कर्मचारीले पछिल्ला नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै लैजानुपर्ने बताउनुभयो । पालिका भित्र कार्यान्वयनमा रहेका योजनाको गुणस्तरमा ख्याल गर्दै योजनामा भरपर्दो र टिकाउयुक्त बनाउदै उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।
सिभिल क्षेत्रमा कार्यरत कर्मचारीको वृद्धि बिकास तथा नयाँ नयाँ डिजाइन सफ्टवेयरको बिकास भएकोले उक्त प्रविधिको प्रयोग गर्नु अहिलेको आवश्यकता भएको भन्दै इन्जिनियर अशोक जिसीले यो तालिम फलदायी हुने बताउनुभयो ।
झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल र प्रमुख प्रशासकीय अधिकृत बिकास केसी, वडा नम्बर १ का वडा अध्यक्ष धुर्वराज खनाल, वडा नम्बर ५ का वडा अध्यक्ष दधिराम पोख्रेल, वडा नम्बर ८ का वडा अध्यक्ष तुलस बहादुर बस्नेत, इन्जिनियर अशोक जिसी, शिक्षा शाखा प्रमुख मोहन बिसी अन्य शाखा प्रमुख, प्राविधिक कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।



S.K. Creative Media Group