गुल्मी । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी जिल्लामा कुल ५१.३६ प्रतिशत मतदान भएको छ । दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा रहेका २ लाख २९ हजार ५ सय ४९ मतदातामध्ये १ लाख १७ हजार ९ सय १ मत खसेको प्रमुख जिल्ला अधिकारी ब्रदीनाथ गैह्रेले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार खसेको मतमध्ये महिला तर्फ ६४ हजार ८ सय ९७ र पुरुष तर्फ ५३ हजार २ मत खसेको छ। जिल्लामा अन्य २ जना मतदाताले पनि मतदान गरेका छन्।

 

बिहिबार बिहानदेखि सुरु भएको मतदान प्रक्रिया जिल्लाभरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ। मतदान केन्द्रहरूमा आवश्यक कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिएको थियो । मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका थिए । मतदान सम्पन्न भएसँगै जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सदरमुकाम तम्घास ल्याउने काम जारी रहेको छ ।

सुरक्षित रूपमा मतपेटिका राखेपछि भोलि बिहान सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने बताइएको छ । यस निर्वाचनमा जिल्लाभर ४३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।जसमध्ये क्षेत्र नम्बर १ मा ११ जना स्वतन्त्र र १० जना दलगत गरी २१ जना उम्मेदवार चुनावी मैदानमा छन । त्यस्तै क्षेत्र नम्बर २ मा १२ जना स्वतन्त्र र १० जना दलगत गरी २२ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर