वासुदेव गिरी
प्यूठान । दशकौंदेखि अलमल परेको प्यूठानको अति व्यस्त तथा महत्वपूर्ण सडकको रुपमा हेरिएको बाग्दुला–मच्छी–ठुलावेसी सडक योजना स्तरोन्नतीको कामलाई एकरुपता ल्याउने उदेश्यले तिनै तहका सरकारका प्रतिनिधि बिच बजेट कार्यान्वयन बारे स्पष्ट कार्ययोजना सहित खण्ड निर्धारण गरि अगाडि बढ्ने भएको छ। शुक्रबार झिमरुक पालिकाको सभाहलमा आयोजित छलफलमा आर्थिक वर्ष २०८२/०८३ मा संघ, प्रदेश र स्थानीय सरकारबाट विनियोजित बजेटमार्फत सडक स्तरोन्नतीको लागि डिजाइनमा एकरुपता ल्याउने गरि निर्माणको काम र खण्डहरुमा डुप्लिकेसन नहोस् भनेर छुट्टाछुट्टै च्यानेज समेत छुट्टाएर सडकमा स्तरोन्नतीको काम हुनेगरी स्पष्ट कार्ययोजना तयार गरिको हो ।

बाग्दुला-मच्छी- ठुलाबेसी सडकको बतासेडाँडा–जीमुरखोला सडकखण्डमा आर्थिक वर्ष २०८१/०८२ मा झिमरुक गाउँपालिका मार्फत ५ करोड रुपैयाँको लागतमा स्तरोन्नतिको काम गरिरहेको छ। सोहि सडक खण्डमा अन्य संरचना निर्माण र कालोपत्रे गर्न आर्थिक वर्ष २०८२/०८३ का लागि गाउँपालिकाबाट संघीय समपूरक योजना अन्तर्गत ७ करोड रूपैयाँ बजेट बिनियोजन भएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो ।

प्रदेश अन्तर्गत सडक पुर्वाधार विकास कार्यालय प्यूठान मार्फत बाग्दुला जिरो प्वाइन्टदेखि ९५० मिटर च्यानेज छोडेर प्युठान नगरपालिका-९ र १० स्थित हाडिगैरा-बतासेडाँडा सडकखण्ड र झिमरुक गाउँपालिका-६ स्थित जिमुरखोला-मच्छी सडक खण्डसम्मको च्यानेजमा १० मिटर सडक चौडा हुने गरि कटिङ्ग गर्ने, नाली, बाल र सडकमा बनाइने सम्पुर्ण (स्टक्चर) संरचना सहित कालोपत्र समेतको काम गरिने खाका बनेको छ ।

त्यस्तै संघ अन्तर्गत सडक डिभिजन कार्यालय जसपुर प्युठान मार्फत मच्छीदेखि ढाड आरुपाटा सडक खण्ड र बाग्दुला जिरो प्वाइन्टदेखि ९५० मिटर हाडिगैरा आसपास खण्डमा आरसिसी ढलानको कार्य गर्ने, व्याक कटिङ्ग गर्ने, नाली बनाउने, विभिन्न संरचना सहित कालोपत्र गर्ने काम अगाडि बढाउने गरि सडकखण्ड समेत निर्धारण गरि स्पष्ट गरिको गाउँपालिका अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै खण्डमा सर्भे गर्दा समन्वय गरेर काम गर्ने सहमति गरिएको छ । सडक सर्भे गर्दा सडकमा पर्ने विद्युतको पोल, खानेपानी, सिंचाइ र घरटहराको समेत मध्येनजर गरेर काम गर्नुपर्ने छलफल भएको बताउनुभयो । डिटेल सर्भे गर्ने क्रममा सम्बन्धित कार्यालय सँग समन्वय गरेर काम गर्ने निर्णय भएको जनाइएको छ।

जिल्लामा निर्माण हुने हरेक आयोजनाहरुको गुणस्तर कायम गर्दै योजना निर्माणको लागतमा ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो । उहाँले जिल्लामा हरेक भौतिक पुर्वाधार निर्माण गर्दा सो योजनाको कारण हुने क्षति आकलन र विपद्लाई समेत मध्येनजर गरेर योजना कार्यान्वयनमा लैजानको लागि प्रमुख जिल्ला अधिकारी नेपालले सुझाव दिनुभयो ।

प्यूठान नगरपालिका क्षेत्रमा सडक डिभिजन कार्यालय जसपुर प्युठानले संघीय बजेट अन्तर्गत एक करोड लागतमा सडक स्तरोन्नतीको कार्य भैरहेको छ । संघीय सडक डिभिजन कार्यालयले ४ करोड रूपैयाँमा सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको कार्यालयले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को असार अन्तिममा प्रदेश सरकारले सडक स्तरोन्नती र विभिन्न संरचना निर्माण गर्न ५ करोड बराबरको बहुवर्षीय ठेक्का खुलाइएको सडक पुर्वाधार विकास कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख इन्जिनियर चन्द्रबहादुर शाहले जानकारी दिनुभयो । त्यस्तै प्रदेश संघीय समपूरक योजना अन्तरगत लुम्बिनी प्रदेश सरकारले बहुवर्षीय योननाको रुपना ३० करोड रूपैयाँ बजेट विनियोजन भएको इन्जिनियर शाहले जानकारी दिनुभयो ।

तिनै तहका सरकार बिच बजेट कार्यान्वयनमा समस्या हुने र योजनाको काम डुप्लिकेसन र कतिपय नितिगत समस्यामा समेत स्पष्ट भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले बताउनुभयो । उहाँका अनुसार उक्त सडकमा विनियोजन भएको बजेट कसरी कार्यान्वयन गर्ने भन्ने अन्यौल अन्त्य भएको जानकारी दिनुभयो।

आर्थिक वर्ष २०८१/०८२ मा सडक स्तरोन्नतीका लागि भिमरूक गाउँपालिकाले ५ करोड रूपैयाँ बजेट विनियोजन गरेर ३ करोड ५ लाख ९० हजार ४ सय ८९ रुपैया ५५ पैशामा कार्की- अमृत जेभी रम्भा-५ पाल्पाले ठेक्का सम्झौता गरि बाग्दुला मच्छी ठुलाबेसी सडकको बतासेडाँडा जेम्मुरखोला खण्डमा कटिङ्ग, नाली, कजवय, वाल र ग्याविन जालिको काम भैरहेको छ । निर्माण कार्य भैरहेको उक्त खण्डमा ७५ प्रतिशत काम सम्पन्न भैसकेको पालिका इन्जिनियर अशोक जिसीले जानकारी दिनुभयो ।

गौमुखी गाउँपालिकाको सिमाना हरियाखोलादेखि लिवासेसम्मको खण्डमा गौमुखी गाउँपालिका र संघीय समपूरक अन्तर्गत ९ करोड रुपैयाँ बजेट सुनिश्चित भएको गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम पौडेलले जानकारी दिनुभयो । एउटै मापदण्डमा सडक स्तरोन्नतिको काम गरिने उहाँले बताउनुभयो ।

झिमरुक गाउँपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगी, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, प्यूठान नगरपालिकाका, झिमरुक गौमुखी गाउँपालिकाका जनप्रतिनिधिहरु, सडक डिभिजन कार्यालय, सडक पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत प्राधिकरणलगायत वडा अध्यक्षहरू, सम्बन्धित शाखाका कर्मचारी तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय