रोल्पा । रोल्पामा अरिंगालको टोकाइबाट ७ वर्षीय स्कुले बालकको मृत्यु भएको छ। अरिंगालको टोकाइबाट गम्भीर बिरामी परेका मोहन परियारको रोल्पा अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो।
त्रिवेणी गाउँपालिका–७ स्थित गैरीगाउँको वीरेन्द्र माध्यमिक बिद्यालयमा शिशु कक्षामा अध्ययनरत ७ वर्षीय परियारको अरिंगालको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार बिद्यालयबाट ७ जना बालबालिका तिलाजंगलको बाटो हुँदै घर फर्कँदै गर्दा एक्कासि अरिंगालले टोकेको प्रहरीले जानकारी दिएको छ। अरिंगालको टोकाइबाट अन्य ६ जना बालबालिका गम्भीर घाइते भएको रोल्पा प्रहरीले जनाएको छ।
कक्षा १० की सुनिता परियार, कक्षा ५ का शंकर परियार, कक्षा ४ का मनिषा परियार, कक्षा ७ का आयु परियार, शिशु कक्षामा पढ्ने कमल परियार र आशिष परियार घाइते भएको प्रहरीको भनाइ छ। घाइते बालबालिकालाई थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।



S.K. Creative Media Group