
अर्घाखाँची । जिल्लाको शितगंगा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । सोमवार बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले देशभर २३ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय थप गर्ने निर्णय गरेको हो । सोही अनुसार अर्घाखाँचीको शितगंगा नगरपालिकामा पनि इलाका प्रशासन कार्यालय स्थापना गर्न समेटिएको छ ।
स्थानीय नागरिकको मागका आधारमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको आग्रह सफल बनेपछि शितगंगावासीले ठूलो राहत पाउने भएका छन् । अबदेखि नागरिकता, राहदानीलगायतका महत्वपूर्ण कागजात बनाउन जिल्ला सदरमुकाम सन्धिखर्क धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।
भौगोलिक हिसाबले ठूलो र जनसंख्या घनत्वका कारण शितगंगा नगरपालिकामा कार्यालय स्थापना गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आएको थियो । यस निर्णयले स्थानीयमा उत्साह थपिएको छ ।
सरकारले यसपालि थप गरेका २३ इलाका प्रशासन कार्यालयमध्ये अर्घाखाँचीको शितगंगासहित रूपन्देहीको गैडहवा, तनहुँको भिमाद, चितवनको खैरहनी, संखुवासभाको हेदङ्गवा, दार्चुलाको गोकुलेश्वर, बाजुराको कोल्टीलगायतका स्थान समेटिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले गरेको यस ऐतिहासिक निर्णयलाई अर्घाखाँचीवासीले स्वागत गरेका छन् । यस्तै खानेपानी तथा ढल व्यवस्थापन कार्यालय फिल्ड कार्यालय अर्घाखाँचीको सन्धिखर्कमा कायम राखिएको छ ।
मुख्यमन्त्री आचार्य यस बिषयमा पनि संघीय सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । केही समय अघि जिल्लाका एमाले-कांग्रेस पार्टीका नेतृत्वहरु काठमाडौं पुगेर गृहमन्त्री रमेश लेखकलाई भेट गर्दै मागहरु राखेका थिए ।