“मल्लरानीको पर्यटन बिकासमा जिपलाईन निर्माणले पर्यटकहरुको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”

प्यार अलि खान

खलंगा । प्युठानको खलंगा स्थित पर्यटकीय क्षेत्र मल्लरानीमा जीपलाईन निर्माणको कामले तिब्रता पाएको छ। मल्लरानी टुरिजम इन्भेष्टमेन्ट कम्पनी प्रालीले जिपलाईन निर्माणको अगुवाइ गरेको हो।

जिल्लाको मल्लरानी धाइरेचौर सामुदायिक वन उपभोक्ता समुह तथा पालेबन सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा जीपलाईन संचालन हुने गरि काम थालिएको छ। दुबै सामुदायिक वन उपभोक्ता समुहले आ-आफ्नो कार्ययोजना भित्र पर्या-पर्यटन अन्तर्गत जिपलाईन संचालनलाई महत्वका साथ अघि बढाएको मल्लरानी टुरिजम इन्भेष्टमेन्ट कम्पनी प्रालिका अध्यक्ष इमानसिंह भारतीले जानकारी दिनुभयो।

कम्पनी र दुईवटै सामुदायिक वन उपभोक्ता समुहबिच जिपलाईन संचालनको कानुनी प्रक्रिया, स्वामित्वबारे छलफल भैरहेको कम्पनी अध्यक्ष भारतीले बताउनुभयो। जिपलाईन संचालनको मोडालिटी के-कस्तो हुने यसबारे छलफल चलिरहेको छ । “हामी यस बिषयमा छिट्टै निष्कर्षमा पुग्नेछौं।” भारतीले भन्नुभयो, “जीपलाईनले मल्लरानीको पर्यटन प्रबर्द्धनमा ठूलो टेवा पुर्याउने विश्वास लिएका छौं।”

मल्लरानीमा करिब १ करोड रुपैयाँको लागतमा जिपलाईनको प्रोजेक्ट निर्माण हुँदैछ । करिब ६ सय ५० मीटर लम्बाईमा जिपलाईनको मुख्य पिलर निर्माणको काम सकिएको छ। दोस्रो पिलर तयार गर्ने काम अघि बढिरहेको कम्पनी अध्यक्ष भारतीले बताउनुभयो। जिपलाईनमा लाग्ने केवल (लठ्ठठा) एक हप्ता भित्रै भारतबाट आईपुग्ने कम्पनीका वरिष्ठ शेयर सदस्य तथा मल्लरानी बजार क्षेत्रका अध्यक्ष बासु श्रेष्ठले जानकारी दिनुभयो।

माघ १ गते जिपलाईनको संचालन तथा उद्घाटन गर्ने लक्ष्य लिईएको उहाँले बताउनु भयो। जिपलाईनलाई साहसिक खेल पर्यटनको रूपमा लिईन्छ। गाउँपालिकाकै मुख्य पर्यटन क्षेत्रको रूपमा रहेको मल्लरानीमा मल्लरानी गाउँपालिकाले ५ करोड रुपैयाँ बजेटमा विभिन्न पर्यटकीय पूर्वाधारका संरचनाहरको निर्माण कार्य अघि बढाएको छ।

चिल्ड्रेन पार्क, सिँढी निर्माण, वाटर फाउन्टेन आदि पर्यटकीय पूर्वाधारका कामहरु अघि बढाईएको गाउँपालिकाले जनाएको छ। स्थानीयस्तरबाट समेत मल्लरानीमा विभिन्न पर्यटकीय संरचनाहरु तयार गरिएको छ। समुन्द्री सतहबाट १६ सय ५५ मिटरको उचाईमा रहेको मल्लरानीबाट विभिन्न हिम श्रृङ्खला, प्यूठान उपत्यका आदिको अवलोकन गर्न सकिन्छ। मल्लरानि पछिल्लो समय आन्तरिक पर्यटकहरु घुम्न जाने महत्त्वपूर्ण स्थानको रुपमा बिकास हुँदै गएको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय