प्यूठान । पाठेघरको मुखको क्यान्सर विरुद्ध प्यूठानमा यस बर्ष पनि किशोरीहरुलाई खोप लगाउन थालिएको छ । पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउनका लागि स्वास्थ्य कार्यालय प्यूठानले यहि माघ २५ गतेदेखि खोप अभियान सञ्चालन गर्न लागेको हो ।
जिल्लामा रहेका ६ कक्षामा अध्ययन गर्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समुहका किशोरीलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय प्यूठानका वरिष्ठ खोप अधिकृत मधुसुदन खड्काले जानकारी दिनुभयो । जिल्लाका विद्यालयका २ हजार ८ सय ५७ जना र समुदायमा रहेका ५५ जना किशोरीलाई खोप दिने लक्ष्य राखिएको खड्काले जानकारी दिनुभयो । त्यसका लागि विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र तोकिएको छ ।
नेपालमा प्रत्येक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको देखिएको छ । प्रत्येक वर्ष १ हजार ३१३ जना महिला पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि सरकारले खोपको व्यवस्था गरेको छ ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारकर्मी र खोप समन्वय समितिका पदाधिकारीलाई खोप अभियानको बारेमा जानकारी गराइएको थियो ।



S.K. Creative Media Group