बैतडी । बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । सुदूरपश्चिम प्रदेशको बैतडीमा बिहीवार राति भएको दुर्घटनाका घाइतेमधये थप पाँच जनाको ज्यान गएपछि मृतकको संख्या १३ पुगेको प्रहरीले जनाएको छ ।
आठ जनाको घटनास्थलमै ज्यान गएको थियो भने थप पाँच जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एसएसपी पदमबहादुर विष्टले जानकारी दिनुभयो ।
घटना स्थलमा मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका-७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय बिष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यू गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका- ७ का ४० वर्षीय बसन्त राज रतला र बैतडीको पुर्चौडी नगरपालिका वडा नं ७ का ४० वर्षीया पुस्पा अवस्थी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, डीएसपी दिपक कुमार रायले बताउनुभयो ।
त्यस्तै डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका-७ का बिसनदत्त जोशी, सोही ठाउँका २८ वर्षीय दीपक दत्त जोशी, ४६ वर्षीय किसनदत्त जोशी, बैतडीको पुर्चौडी-७ का १४ वर्षका सुशील जोशी र केदार्स्युका २६ वर्षका केशबराज भट्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख रायले जानकारी दिनुभयो ।
पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२००१ ख १११९ नम्बरको बस राति करिब ८ बजेतिर पुर्चौडी नगरपालिका–७ बडगाउँको मोडमा दुर्घटनामा परेको हो।
बस चालक विरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । बेहुला बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल रहेको प्रहरीले जनाएको छ ।
अहिले दुर्घटनामा घाइते मध्ये ३६ जनालाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको जनाइएको छ। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा बसमा सवार एकजना बालक बेपत्ता भएकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। बस सडकबाट झन्डै १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
बस दुर्घटनाका घाइतेहरु निशुल्क उपचारको व्यवस्था मिलाउन मन्त्री पालसंग एमाले नेता महरको आग्रह
बैतडीको पुर्चौंडी नगरपालिका–७ मा भएको बस दुर्घटनामा घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्नुपर्ने माग गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ इन्चार्ज ऐन महरले दुर्घटनामा घाइते भएका सबैको निःशुल्क उपचारको व्यवस्था गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग आग्रह गर्नुभएको हो ।
घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन महर बिहीबार राति डडेल्धुरा अस्पताल पुग्नुभएको पत्रकार सत्यराज सिंहले जानकारी दिनुभयो । उहाँले घाइतेहरूको उपचारमा सहजीकरण गर्दै शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो । सोही क्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालसँग भेट गर्दै उपचार खर्च प्रदेश सरकारले व्यहोर्नुपर्ने माग राख्नुभएको हो ।
मन्त्री पाल पनि घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएको थियो । अस्पतालमै भएको भेटघाटका क्रममा महरले दुर्घटनामा घाइते भएका सबैको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । जवाफमा मन्त्री पालले शुक्रबार बस्ने प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी घाइतेहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।




S.K. Creative Media Group