दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले महाशिवरात्रि पर्व २०८२ का अवसरमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भावलाई समाजको पहिचानका रूपमा मजबुत बनाउन आह्वान गर्नुभएको छ । उहाँले धार्मिक आस्थालाई पर्यटनसँग जोडेर प्रदेशको समृद्धिको आधार बनाउन सकिने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभएको हो ।

मुख्यमन्त्री आचार्यले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, शान्ति, प्रगति र समृद्धिको कामना गर्दै महाशिवरात्रिको शुभकामना व्यक्त गर्दै भगवान शिवको आराधनासँग जोडिएको यस पर्वले आत्मसंयम, सकारात्मक चिन्तन र सदाचारको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार लुम्बिनी प्रदेश सबै धर्म, संस्कृति र आस्थाप्रति समान सम्मान र समभाव राख्ने प्रदेश हो । प्रदेश सरकारले धार्मिक सहिष्णुता र सहअस्तित्वको मूल्यलाई संस्थागत गर्दै विभिन्न धर्मसँग सम्बन्धित मठ, मन्दिर, विहार तथा तीर्थस्थलहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै आएको छ । धार्मिक आस्थालाई पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक आकर्षित गर्ने नीति प्रदेशको दीगो समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने उहाँको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका धार्मिक तथा सांस्कृतिक सम्पदालाई एक आपसमा जोड्ने पर्यटन सर्किट विकास गर्ने योजना अघि बढाइएको जानकारी दिनुभएको छ । यसले रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको चलायमानता र प्रदेशको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । धार्मिक पर्यटन संस्कृति संरक्षणसँगै समृद्धिको ढोका खोल्ने प्रभावकारी माध्यम बन्न सक्ने उहाँको धारणा छ ।

आधुनिकताको प्रभावसँगै चाडपर्व मनाउने शैली परिवर्तन हुँदै गएको उल्लेख गर्दै उहाँले आधुनिकताको नाममा हुने विकृति र विसंगतिलाई निरुत्साहित गर्न सबैको साझा जिम्मेवारी रहेको बताउनुभएको छ । नेपाली संस्कृति, परम्परा र चाडपर्वले आपसी एकता, सद्भाव र पहिचानलाई बलियो बनाउँदै आएको उल्लेख गर्दै तिनको मौलिकता जोगाउँदै भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय