प्यूठान । स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेश श्रेष्ठले नेपालको स्वास्थ्य क्षेत्रलाई थप सुदृढ बनाउन सरकारी, निजी र सामाजिक क्षेत्रले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । सरकारी निकायले कार्यक्रम कार्यान्वयनका लागि नेतृत्व गर्ने र अरु निकायले त्यसमा सहयोग गर्दै आएको बताउनुभयो ।
मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको आयोजना तथा आईपास नेपालको सहयोगमा सञ्चालित यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, लैंगिकता तथा जलवायु न्याय सम्वन्धी तालिमको समापनका अवसरमा जनस्वास्थ्य अधिकृत श्रेष्ठले नेपाल सरकारको कार्यक्रमलाई दिगो बनाउन यी कार्यक्रमले सहयोग पुगेको बताउनुभयो । जिल्लाका दुई वटा पालिकामा यो परियोजना लागु भएको भन्दै आगामी दिनमा जिल्लाका अरु पालिकामा समेत कार्यक्रम विस्तार गर्न उहाँले सुझाव दिनुभयो ।
किशोरकिशोरीका लागि सञ्चालित ३ दिने तालिमको समापनको अवसरमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका कार्यकारी प्रमुख विजय कुमार श्रेष्ठले संस्थाले स्वास्थ्य क्षेत्रमा जिल्लाभर काम गरेको अनुभव सुनाउनुभयो । सुआहारा, किशोर किशोरी प्रजन स्वास्थ्य लगायत कार्यक्रम मार्फत विगतमा जिल्लाका ६४ वटै वडामा पुगेर स्वास्थ्यको क्षेत्रमा काम गरेको जानकारी दिनुभयो । हाल सञ्चालित यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुदृढिकरण कार्यक्रम प्यूठानको नौबहिनी र झिमरुक गाउँपालिकामा मात्र सञ्चालनमा रहेको बताउनुभयो ।
तालिमको सहजीकरण आईपास नेपालका प्रोग्राम कन्सलट्यान्ट जीवन देवकोटाले गर्नुभएको थियो । तालिममा नौबहिनी गाउँपालिका र झिमरुक गाउँपालिकाका किशोरकिशोरीको सहभागिता थियो । मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका अध्यक्ष निर्जला कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत सिमा आचार्यले गर्नुभएको थियो ।





S.K. Creative Media Group