प्यूठान । गौमुखी गाउँपालिका– ६ लिवाङका २८ वर्षीय पदम बहादुर के.सी.ले आफ्नै गाउँमा विरुवा उत्पादन गर्नुहुन्छ । उहाँले ०७५ सालदेखी गाउँको जग्गामा विभिन्न जातका विरुवाको नर्सरी राखेर विरुवा उत्पादन गरि विक्री गर्दै आउनुभएको छ ।
“आफ्नै आठ रोपनी जग्गामा नर्सरी गर्दै आएको छु,” के.सी.ले भन्नुभयो, “यहि नै मेरो आम्दानीको राम्रो स्रोत बनेको छ ।” नर्सरीमा विभिन्न जातका घाँसका विरुवा र टिमुर, कफी, अम्बा लगायत जातका विरुवा उत्पादन गर्ने गरेको के.सी. बताउनुहुन्छ । उहाँका अनुसार उत्पादन गरेका विरुवा जिल्लाभित्र नै खपत हुँदै आएको छ ।
“शुरुमा थोरै लगानी गरेर नर्सरी शुरु गरेको थिए,” के.सी.ले भन्नुभयो, “अहिले राम्रो व्यवसाय गरेछु भन्ने लागेको छ ।” व्यवसायबाट के.सी.ले वार्षिक १२ लाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ । “रोजगारीका लागि विदेश जान पासपोर्ट बनाएर बसेको थिए,” विगत सम्झिदै के.सी.ले भन्नुभयो, “सँगैका साथी विदेश पुगेका छन, म भने नर्सरीमा रमाएको छु ।”
के.सी.को ६ जनाको परिवार छ । घरदेखि नजिकै रहेको नर्सरीमा सिजनका बेला के.सी.को श्रीमती मिठाले पनि सघाउनुहुन्छ । गाउँमा परिवारसँगै बसेर आयआर्जन गर्न पाउँदा खुशी मिलेको उहाँ बताउनुहुन्छ । “गाउँमै जिविकोपार्जन भएको छ,” उहाँले भन्नुभयो, “विदेश जान परेको छैन, दु:ख गरे गाउँमै पनि कमाई हुँदो रहेछ ।”