प्यूठान । दुई महिनादेखि प्रमुख जिल्ला अधिकारीविहीन रहेको प्यूठानमा शिवप्रसाद रेग्मी नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा आउनुहुने भएको छ । गृह मन्त्रालयले नेपाल सरकारका सहसचिव रेग्मीलाई प्यूठानको ४८औँ प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन गरेको हो ।
रेग्मी यसअघि प्यूठानको तत्कालीन जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारीका रूपमा काम गरिसक्नुभएको छ । जिल्लाको प्रशासनिक तथा विकास निर्माणसम्बन्धी क्षेत्रमा समेत अनुभव हासिल गर्नुभएका उहाँको आगमनसँगै जिल्लाको प्रशासनिक नेतृत्वले पूर्णता पाउने भएको छ ।
गत असोज १४ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंको सरुवा भएपछि प्यूठान प्रमुख जिल्ला अधिकारीविहीन बनेको थियो । त्यसयता केही समय प्रशासकीय अधिकृत महेश केसीले निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नुभएको थियो भने हाल सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जिल्लाको प्रशासनिक नेतृत्व सम्हाल्दै आउनुभएको छ ।
नयाँ प्रमुख जिल्ला अधिकारीको आगमनसँगै जिल्लाको शान्ति सुरक्षा, सुशासन, सार्वजनिक सेवा प्रवाह तथा प्रशासनिक कामकारबाही थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय