प्यूठान । झिमरुक गाउँपालिका–५ ओखरकोटस्थित जनचेतना युवा क्लवले यस वर्षको देउसी भैलो कार्यक्रमबाट १ लाख ८८ हजार ६ सय १५ रुपैयाँ बचत गरेको छ ।

क्लवले देउसी भैलो २०८३ बाट कुल २ लाख ३९ हजार ६ सय ८८ रुपैयाँ संकलन गरेकोमा कार्यक्रम व्यवस्थापन खर्च कटाएर उक्त रकम बचत गरेको भैलो व्यवस्थापन संयोजक रामबहादुर जिसीले जानकारी दिनुभयो ।
​
बिहीबार क्लव कार्यसमिति र देउसी भैलोमा सहभागी कलाकारहरूको संयुक्त बैठक बसी बचत रकम सामाजिक तथा सांस्कृतिक कार्यमा उपयोग गर्ने निर्णय गरेको हो ।
​
निर्णयअनुसार संकलित रकममध्ये २० हजार रुपैयाँ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हिरापोखरीमा ‘जनचेतना युवा क्लव देउसी भैलो २०८३ स्मृति अक्षयकोष’ स्थापनाका लागि हस्तान्तरण गरिएको छ । क्लवका अध्यक्ष दलबहादुर जिसीले विद्यालयका प्रधानाध्यापक यशोदा खड्कालाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष जिसीका अनुसार आगामी दिनमा कोषको रकम वृद्धि गर्दै लगिनेछ भने विद्यालयको मूल ब्यानरसमेत क्लवले सौजन्य गर्ने निर्णय गरेको छ ।
​
यसैगरी, बैठकले देउसी भैलोमा सहभागी कलाकार तथा सहयोगीहरूका लागि तत्काल सामूहिक अवलोकन भ्रमण आयोजना गर्ने र केही समयपछि दाता, कलाकार तथा शुभेच्छुकहरूलाई समेटेर सहभोज (पिकनिक) कार्यक्रम गर्ने निर्णय गरेको छ । सोही अवसरमा ५ हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने दाताहरूलाई सम्मान गरिने अध्यक्ष जिसीले बताउनुभयो । प्रत्यक्ष सहभागी हुन नसकेका तर विभिन्न माध्यमबाट सहयोग पुर्‍याएका कलाकार तथा सहयोगीहरूलाई समेत आगामी सहभोजमा समेटिने क्लवले जनाएको छ ।
​
क्लवले तिहारका विभिन्न दिनका साथै मच्छीमा आयोजित द्वादशी मेला र ब्रह्माथान पूर्णिमा मेलामा समेत भैलो तथा सांगीतिक प्रस्तुति मार्फत दर्शकको मन जित्न सफल भएको थियो । विगतदेखि नै स्थानीय संस्कृति संरक्षण, सामाजिक एकता र आपसी सद्भावका लागि सक्रिय रहँदै आएको क्लवले देउसी भैलोलाई मौलिक संस्कृति जोगाउने र सामाजिक उत्तरदायित्व वहन गर्ने माध्यमका रूपमा लिएको जनाएको छ ।
​
क्लवले कार्यक्रम सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्‍याउने सम्पूर्ण दाता, कलाकार र शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गरेको छ ।
​

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय