प्यूठान । स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा) को नतिजा प्यूठानका स्थानीय तहले सार्वजनिक गरेका छैनन । अघिल्लो आर्थिक वर्षको नतिजा सार्वजनिक गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेपनि सार्वजनिक गरेका छैनन ।
स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन कार्यविधि २०७७ बमोजिम माघको पहिलो सातासम्म नतिजा आफ्नो वेभसाईट र सूचना पाटीमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था बमोजिम नतिजा प्रकाशन गर्न मन्त्रालयले पुस २७ गते परिपत्र गरेको थियो ।
सरुमारानी र माण्डवीले सार्वजनिक गर्यो
प्यूठानको सरुमारानीले माघ ७ गते नतिजा सार्वजनिक गरेको छ । उक्त स्वमुल्यांकनमा सरुमारानीले ७९ अंक प्राप्त गरेको छ ।
त्यस्तै माण्डवी गाउँपालिकाले माघ ९ गते नतिजा वेभसाईटमा राखेको छ । माण्डवीले ७८.५ अंक प्राप्त गरेको छ ।
के हो लिजा ?
स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउनका लागि विभिन्न सूचकहरुको आधारमा गरिने स्वमूल्यांकन हो । स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा पालिकाहरुले विभिन्न १० सूचकहरुको स्वमुल्यांकन गर्ने गर्दछन् । ती सूचकहरुमा शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पुर्वाधार, सामाजिक समावेशिकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय रहेका छन् ।