
प्यूठान। नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्यूठानले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । पार्टी कार्यालय बिजुवारमा संचालन भएको प्रशिक्षणको नेकपा एमाले उप-महासचिव एवं केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले उद्धाटन गर्नुभएको हो ।
उद्घाटनपछि बोल्दै नेता ज्ञवालीले पार्टीको प्रशिक्षण अभियानको समग्र सन्दर्भसहित योजनाबद्द स्कुलिङका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विशेष अतिथि पार्टी पोलिटव्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले प्युठानमा कम्युनिष्ट आन्दोलनको शुरूमै २०१० साल पुस १७ देखि चैत ५ गतेसम्म १२५ जनाको सहभागितामा संचालित तीन महिना लामो ‘जनता प्रशिक्षण शिविर’ को ऐतिहासिक भुमिका रहेको सन्दर्भको चर्चा गर्दै पार्टीमा वैचारिक रूपमा एकरूपता सिर्जना गर्न जोड दिनुभयो ।
तीन दिने प्रशिक्षण कार्यक्रममा माक्र्सवादी दर्शन र जनताको बहुदलीय जनवादको विकास, नेपाली समाजको विकास क्रम र विशेषता, संगठन निर्माण : सिद्धान्त, व्यवस्थापन र परिचालन, दशौं महाधिवेशनको नीति, कार्यक्रम र समृद्ध नेपाली सुखी नेपालीको कार्यदिशा, नेपालका राजनीतिक दलहरुको तुलनात्मक अध्ययन, प्यूठानको कम्युनिष्ट आन्दोलन : संक्षिप्त इतिहास, वर्तमान र भविष्यका विषयमा प्रशिक्षण दिइनेछ ।
त्यस्तै राजनीतिक अर्थशास्त्र र वर्तमान अवस्था, नेतृत्व, प्रशिक्षण व्यवस्थापन, प्रस्तुती सीप र शैली, विज्ञान प्रविधिको विकास सूचना तथा सञ्चारको महत्व, आर्थिक अनुशासन र लेखा व्यवस्थापन, प्यूठानको समग्र विकासमा पार्टीको भूमिका र भावी योजना (प्रस्तुती र समुह छलफल कार्यशाला), प्यूठानमा पार्टी प्रशिक्षणको अवस्था र योजना जस्ता विषयमा प्रशिक्षणका विषयवस्तु छन् ।
प्रशिक्षण पश्चात जिल्ला व्यापी रुपमा प्रशिक्षणका कार्यक्रमहरुलाई अभियानको रुपमा लैजाने नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानका अध्यक्ष विजयविराज विष्टले बताउनुभयो । प्रशिक्षणले पार्टी सदस्यहरुमा नयाँ ऊर्जा दिनुका साथै पछिल्ला समसामयिक विषय तथा प्रविधिका बारेमा समेत ज्ञान मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
तीन दिने कार्यक्रममा उपमहासचिव ज्ञवाली, सचिव पद्मा अर्याल, पोलिट्व्युरो सदस्य सुर्य थापा, इश्वरी रिजाल, राधाकृष्ण कँडेल, केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली, भगवती न्यौपाने, पार्टी स्कुल विभाग सचिव घनश्याम कोइराला, सदस्यहरू बद्री खनाल, रामशरण प्याकुरेल र वाइपी आचार्यले प्रशिक्षण दिने कार्यक्रम छ ।
प्रशिक्षणमा जिल्ला कमिटी, जनवर्गीय संगठनका नेता कार्यकर्ता को सहभागी छन । जिल्ला पार्टी अध्यक्ष तथा पार्टी स्कुल विभाग प्रमुख विजयविराज बिष्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन सचिव माधव पौडेलले गर्नुभएको थियो ।