प्यूठान । विविध कार्यक्रमको आयोजना गरि आज देशभर शहिद दिवस मनाइँदै छ । इतिहासमा प्रजातन्त्र, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको लागि लड्ने क्रममा ज्यान गुमाएका शहिदहरुको सम्झानामा नेपालमा माघ १० देखि १६ गतेसम्म शहिद सप्ताह मनाइदै आइएको छ।
देश र जनताका लागि प्राण आहुति दिनुहुने शहिदहरूको विशेष सम्झना गरिने दिनका रुपमा २०१२ सालदेखि शहिद दिवस मनाउन थालिएको हो ।
प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ मा शहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए।
यस वर्ष आज शहिद दिवसको दिन सार्वजनिक बिदा नहुने तर राष्ट्रिय पर्वका रूपमा मनाउने गृह मन्त्रालयले जनाएको छ । सरकारले सार्वजनिक बिदा दिन यसअघि गरेको निर्णय अर्को वर्ष २०८१ सालदेखि लागू हुने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
त्यस्तै आज प्यूठानमा पनि शहिद दिवसका अवसरमा नेकपा एमाले प्युठानले सहिद दिवस विशेष कार्यक्रम गरेर बनाएको छ। प्युठान गाँजुरीस्थित सहिदस्मृति पार्कमा अवस्थित चार अमर शहिदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द र धर्मभक्त माथेमाका शालिकमा आज बिहान नेकपा एमाले पार्टी उपमहासचिव पूर्वमन्त्री प्रदीप ज्ञवाली, सचिव पूर्वमन्त्री पद्मा अर्याल, पोलिटव्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापा, लम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्यहरू लक्ष्मण ज्ञवाली र भगवती न्यौपाने तथा जिल्ला अध्यक्ष विजयविराज विष्टसहित नेता, कार्यकर्ताहरूद्वारा टीका,माला र फूल अर्पण तथा मौनधारण गरी श्रध्दाञ्जली अर्पण गर्दै सम्मान व्यक्त गरिएको छ ।
सोही अवसरमा बोल्दै नेकपा एमाले पार्टी उपमहासचिव पूर्वमन्त्री प्रदीप ज्ञवालीले शहिदहरुले देखाएको सहि मार्ग पहिल्याउन पर्ने बताउनुभयो । शहिदको सपना पूरा गर्न सकेमात्र सहि अर्थमा आजको दिन शहिदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै गणतन्त्रलाई थप बलियो बनाउदै, राज्यका कैयन बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प साथ लाग्नुपर्ने बताउनुभयो ।
गाँजुरीस्थित सहिदस्मृति पार्कमा ब्यवस्थापन समितिले पनि सहिदको सम्झनामा शहिदको सम्झाना गरिएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य सूर्य थापा, लुम्बिनी प्रदेशका उद्योग तथा यातायात ब्यबस्था मन्त्री सरोज थापा, प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठ, निमा गिरी, स्थानीय तहका प्रमुख प्रतिनिधि, स्थानीयको सहभागिता थियो ।