प्यूठान । जिल्लामा उत्पादन हुने कृषि उपजको बजारीकरणका लागि संयन्त्र निर्माण गर्ने विषयमा छलफल भएको छ । मल्लरानी गाउँपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाई प्यूठानले आयोजना गरेको कृषि बजारीकरण सम्बन्धी गोष्ठीमा बजारीकरणको संयन्त्र बनाउने विषयमा व्यापक छलफल भएको हो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख चुमानसिंह गिरीले जिल्लामा उत्पादन हुने कृषि उपजलाई बजारसम्म लैजानका लागि वडा तहदेखी जिल्ला तहसम्म संयन्त्र बनाउनुपर्ने बताउनुभयो । उहाँले वडा, पालिका र जिल्ला स्तरमा संयन्त्र निर्माण गरेमा बजारीकरणको समस्या हल हुने उहाँको भनाई छ ।

गिरीले प्रस्तुत गरेको कार्यपत्र अनुसार जिल्लामा प्रति महिना ११२ मेट्रिकटन, फलफुल ४६ मेट्रिकटन र खाद्यान्न ७१६ मेट्रिकटन आयात हुने तथ्यांक देखिएको छ । कृषकले बजार नपाएको र व्यापारीले उत्पादन नभएको भन्ने अवस्थामा तालमेल मिलाउन प्रयास थालिएको गिरीको भनाई छ ।

कार्यक्रममा जिल्ला स्तरीय कृषि बजार सहजीकरण समिति बनाउने निर्णय भएको छ । प्यूठान नगरपालिकाका नगर प्रमुखको संयोजकत्वमा बन्ने समितिमा सदस्य सचिव नगरपालिकाका कृषि शाखा प्रमुख र अरु पालिकाबाट सदस्यहरु रहनेछन् । उक्त समिति बनेपछि पालिका र वडामा समेत समिति बनाएर जाने बताइएको छ ।

मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षता, संविधानसभा सदस्य नारायण अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रमेश कुमार श्रेष्ठ र सञ्चाल धानजोनका कृषि प्राविधिक विपिन खड्काले गर्नुभएको थियो । जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, वडा अध्यक्ष, कृषि तथा पशु विकास शाखा प्रमुख, कृषक लगायतको सहभागीता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय