प्यूठान । जिल्लामा जिल्ला सहकारी संघ लिमिटेडले आफ्नो एक वर्षे कार्यकालको समिक्षा गरेको छ । आइतबार जिल्ला सहकारी संघ लिमिटेडले आयुष्मा होटेल जुम्रीमा गरेको पत्रकार भेटघाटमा एक वर्षे विभिन्न गतिविधिको बारेमा जानकारी गराएको हो ।
कार्यक्रममा सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोखरेलले सहकारी संघ प्यूठानको अहिले सम्मको अवस्था, गरिएका गतिबिधि र संघले लिएको भावी कार्ययोजनाबारे प्रेस बिज्ञप्ती मार्फत जानकारी दिनुभयो ।
सहकारी क्षेत्रको स्वतन्त्र बिकास र परिचालन मार्फत समाजबाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने राज्यको संकल्प बमोजिम देशको आर्थिक बिकासको प्रमुख स्तम्भको रुपमा सहकारीले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको संघका अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । मुलुक संघीय संरचनामा भएपछि सहकारीहरु स्थानीय तह तथा केही प्रदेश तहको नियमनमा रही जिल्लाको ग्रामीण क्षेत्रमा संचालित आय आर्जनको क्षेत्रमा काम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
सहकारी संस्थाहरुको संचालन, ब्यवस्थापनको ज्ञान सीपको अभावमा ब्यवस्थित गर्नुपर्ने बर्तमान अवस्थामा जिल्लाका सहकारी संस्थाहरुको छाता संघ जिल्ला सहकारी संघ प्यूठानले सहकारी संस्थाहरुको बित्तिय पहुँच अभिबृद्धि, दिगो संस्थागत बिकास, सञ्जालीकरण, क्षमता विकास, अवस्था पहिचान सूचना आदान प्रदान र उद्यमशीलताका विभिन्न तालिमहरु प्रारम्भिक तथा संघको संस्थागत बिकासका लागि निरन्तर क्रियाशील रहेको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।
सहकारी संस्थाको सुदृढीकरण गरी कार्यप्रणाली सुधारका लागि जिल्ला सहकारी संघले पहल गर्दै आएको बताउनुभयो । एक वर्षे अवधिमा अपेक्षित रुपमा नतिजा दिन नसकेपनि केही सुधार गर्दै संस्थालाई क्रियाशील बनाउन सफल रहेको अध्यक्ष पोख्रेलले बताउनुभयो ।
सहकारी संस्थालाई सवल र सक्षम बनाउन सकेमात्र सहकारी अभियान सफल हुने भएकोले सबैको सहकार्य आवश्यक रहेको औल्याउँदै आफुले चरण चरणमा जिल्लामा विभिन्न गतिविधि गर्दै स्थानीय सरकारसँग सहकार्य र समन्वयमा पालिका स्तरमा केन्द्रित रही गतिबिधि अगाडि बढाइदै आएको उहाँले जानकारी दिनुभयो ।
जिल्लाको सहकारी संघको ३ बर्षे रणनीतिक व्यवसायिक योजना निर्माण गरी सो रणनीतिक योजना अगाडि बढाउने, सहकारीको भवन निर्माणको लागि जग्गा खोजि गर्ने प्रक्रियालाई सुरु गरिएको बताउनुभयो । सहकारी संस्थाको पाश्वर्वचित्र निर्माण गर्ने, सहकारी शिक्षाका लागि रेडियो शिक्षा कार्यक्रम संचालन गर्नका लागि प्रारम्भिक सहकारी संस्थाहरु र संचारमाध्यमसंग समन्वय गरी अगाडि बढ्ने जानकारी दिनुभयो ।
सहकारी संस्थालाई प्रबिधिमैत्री बनाउने सहकारी संस्थामा कार्यरत कर्मचारीहरुका एउटै खालको पोशाक बनाउने, सहकारीलाई मर्जरको लागि पहल गर्ने, सहकारीकर्मीहरुको क्षमता अभिबृद्धिका लागि आबश्यक तालिम संचालन गर्ने, सहकारी संघको कार्यालयलाई ब्यविस्थत बनाउने र सहकारी सूचना केन्द्रको रुपमा बिकास गर्न पहल थालिएको उहाँले जानकारी दिनुभयो ।
जिल्लाका सहकारी संस्था २०७० सालमा स्थापना भइ हाल यो संघमा १ सय २५ सहकारी संस्थाहरु आबद्ध रहेका छन् । जिल्लाका स्थानीय तहमा उल्लेखित बिवरण अनुसार १ सय ८२ प्रारम्भिक तथा ३ बिषयगत गरी १ सय ८५ सहकारी संस्था क्रियाशील रहेको छ ।
सहकारी संघका जिल्ला अध्यक्ष सुशील पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी संघ प्यूठानका उपाध्यक्ष खिम बहादुर जिसीले सहकारी संस्थाले पछिल्लो चरणमा देखाएको सक्रियता सहित कार्यक्रमको बिषयबस्तुबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष संजय रिजाल, पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारी, प्रेस चौतारीका अध्यक्ष बासुदेव गिरी, नेपाल पत्रकार महासंघका सचिव प्रकाश बैद्य, प्रेस चौतारी सचिव राम बहादुर बिक, प्रेस युनियनका सचिव राजेश जिसी, सदस्य बिमल पोखरेल लगायत जिल्लामा क्रियाशील बिभिन्न संचारमाध्यममा क्रियाशील संचारकर्मीहरुको उपस्थिति रहेका थियो ।