
प्यूठान । तिहार (भाइटीका) को भोलिपल्ट लाग्ने प्युठान जिल्लाको ऐतिहासिक डल्ले सराय मेलामा यसवर्ष पनि दर्शनहरुको उत्साहजनक उपस्थिति रहेको थियो । विगतवर्षदेखि प्रतियोगिताकै रुपमा सराय नाच संचालन भएपछि सराय मेला अवलोकनको लागि हजारौको उपस्थिति हुने गरेको छ । जिल्ला संगै छिमेकी जिल्लाका स्थानिय समेत मेलाको अवलोकनका लागि आउने गरेको आयोजकले जनाएको छ ।
विगतवर्षदेखि प्रतियोगिताकै रुपमा सराय नाच संचालन भएपछि हजारौँको संख्यामा स्थानीय उपस्थित हुने गरेका छन्। जिल्लाको मध्यक्षेत्र प्यूठान नगरपालिका ७ मा संचालन हुने डल्ले सरायमा यसवर्ष ९ वटा समूहको सहभागीता रहेको थियो। यसपटक खैरा सरायँ समूह पहिलोपटक सहभागी भएको थियो । प्रतियोगिमा सरायँ नाच प्रस्तुतीको लागि ८ मिनेट समय निर्धारण गरिएको थियो । वखै, वखै गर्दै हातमा तरबार लिएर मैदानमा सरायँ नाच देखाउदा उनीहरुलाई हेर्ने र मोबाइलमा कैद गर्ने दर्शकको भिड लागेको थियो ।
प्युठान नपा-७ डल्लेमा लागेको सराय नाचमा प्रथम स्थान सापडाँडा सराय समूह, द्वितीय पुन्यखोला सराय समूह र तृतीय थापडाँडा सराय समूहले हात पारेको छ । प्रथम हुनेले एक लाख रुपैयाँ नगद पुरस्कार व्यवस्था गरेको थियो। दोस्रो पुरस्कार ७५ हजार र दोस्रो पुरस्कार ५० हजार प्रदान गरिएको आयोजकले जनाएको छ । सहभागी सबैलाई प्रोत्साहन स्वरुप २०-२० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ। १५ जनाको समूह बनाएर सराय नाच प्रदर्शन गरिएको थियो। हजारौँ दर्शकले डल्ले सरायको अवलोकन गरेको आयोजकले जनाएको छ।
ऐतिहासिक डल्ले सराय मेलामा पूण्यखोला, सारीवाङ, पाण्डेडाँडा, कार्कीडाँडा, जुम्रिकाडा, खैराका स्थानीयले समेत सराय प्रदर्शन गरेका थिए। मेलामा विभिन्न झाकी भैलो मारुने नाच समेत प्रदर्सन गरिएको थियो ।नेपाली पोशाक, पञ्चेबाजा, बाद्यबादन, नित्यको तालमेल लगाएत क्षेत्रलाई आधार मानेर विजयी समूह छनोट गरिएको मूल्यांकन समितिका संयोजक हुकुमबहादुर विष्टले जानकारी दिनुभयो ।
प्यूठान नगरपालिकाले चालु आर्थिक वर्षमा डल्ले सरायँका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख बिष्णु योगिले जानकारी दिनुभएको छ। उहाँका अनुसार सरायलाई नगरपालिकाको साँस्कृतिक पर्यटन क्षेत्रको संरक्षण सम्बर्द्धन गर्नको लागि डल्ले सरायँलाई विशेष प्राथमिकता दिएको बताउनुभयो ।
डल्ले सरायँ जिल्लावासीको पहिचानसँग जोडिएको छ । झण्डै सातसय वर्ष पहिलेदेखि जाँट बंशीय राजाको राक्षसी स्वभाव विरुद्ध जनताले तरवार उठाएको घटानासँग सरायँनाच जोडिएको छ । विभिन्न क्षेत्रबाट तरबार लिएर आएका जनताले राजाको मृत्युवरण गरको सम्झनामा मौलो बनाएर हरेक वर्ष डल्ले सरायँ निकालिने गरिन्छ ।
१२ औँ शताब्दीतिर प्युठानको भित्रीकोट राज्यमा एउटा राक्षसी प्रवृतिको जाड राजाले जनतालाई निकै दुःख दिएको र जाडको आंतकबाट जनताहरुले त्रसित जीवन बिताउन परेको जनताले अन्याय सहन नसकी त्यही मानव बिरोधि जाडको विनास गर्ने योजना बनाउदै जनताहरु एकबद्ध भई जाडलाई मान्न खुडा, खुकुरी लिएर लड्न थाले जाडलाई भित्रीकोटबाट लखेट्दै पुण्यखोला स्थित क्षेत्रपालसम्म ल्याए । त्यस ठाउँबाट लखेटदै विजुवारको डल्लेमा ल्याई जाँडको अन्त्य भएको भन्दै डल्लेमा त्यस दिनको सम्झना र खुशियालीमा यो मेला लाग्दै आएको किवदन्ती रहेको छ । कार्यक्रमको अवलोकन गर्न सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको समेत उपस्थित रहेको थियो ।