प्यूठान । पुस्तक बिक्रीका लागि देश दौडाहामा निस्किएका वैज्ञानिक डा. महावीर पुन प्यूठान आइपुग्नु भएको छ । बिगत ३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियान अनुरूप डा. पुनले आफ्नो पुस्तक “महावीर पुन” पुस्तक बिक्री अभियानमा हिड्नुभएको हो ।
देशव्यापी अभियान रहेकाले दाङ, रोल्पा हुँदै प्यूठानको भिंगृ, जस्पुर, जुम्री आउनुभएको हो । सर्वसाधारण नागरिकले पुस्तक किनेर सहयोग गरिदिएका छन् । जुम्रीमा लायन्स क्लब अफ प्यूठानले स्वागत गर्दै पुस्तक बिक्री गर्न सहजीकरण गरेको थियो । त्यसैगरी कालिका बोर्डिङ स्कुल, नेकपा(एमाले) प्यूठानले स्वागत गरेको छ । पुनले भोलि होलिको दिन मल्लरानीमा पुस्तक बिक्री गर्ने बताईएको छ । मल्लरानी सरोकार समूहले पुनको समय तालिका र स्थानको सहजीकरण गरेको छ । भोलि नै पुन अर्घाखाँची जाने कार्यक्रम छ ।
तीन लाख पुस्तक बिक्री गर्ने लक्ष्य
प्रतिपुस्तक ७ सय ५० रुपैयाँमा बिक्री गर्ने गरिएको छ । डा. पुनको जीवन कथाका लेखक, राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका डा. पुनले अहिलेसम्म २५ जिल्लामा पुगेर पुस्तक बिक्री गरिसकेको बताउनुभयो ।
झण्डै नौ महिनाको समय लगाएर बन्द रहेको कारखानालाई मर्मत गरी सञ्चालन गर्ने वातावरण बनाएको भन्दै उहाँले औजार उत्पादनका लागि आर्थिक स्रोत जुटाउन पुस्तक प्रकाशित गरी बिक्री अभियानमा लाग्नुभएको छ ।
नेपालका प्रतिभालाई स्वदेशमा राखेर सहयोग गर्ने र उद्यमी बनाउने लक्ष्यअनुरुप राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको पुन बताउनुहुन्छ । कुनै पनि सरकारको पालामा अर्थतन्त्र सुधार्ने काम गर्न नसकेको पुनको आरोप रहेको छ ।
हाल सम्म ७० हजार प्रति पुस्तक बिक्री भएको उहाँको भनाई छ ।
करिब तीन लाख पुस्तक बिक्री भएको अवस्थामा कृषि औजार कारखाना सञ्चालनमा ल्याउन सकिन्छ भन्ने डा.पुनको विश्वास छ ।
म्याग्दीमा जन्मिएका पुन ‘इन्टरनेट हल अफ फेम’, ’समग्र सामाजिक नवीनता पुरस्कार’, जोनाथन बी पोष्टल अवार्ड, एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागसेसे पुरस्कार’ जस्ता विभिन्न सम्मानद्वारा सम्मानित भइसक्नुभएको छ ।