प्यूठान । पुस्तक बिक्रीका लागि देश दौडाहामा निस्किएका वैज्ञानिक डा. महावीर पुन प्यूठान सदरमुकाम खलंगा आइपुग्नु भएको छ । डा. पुनलाई प्यूठान उद्योग वाणिज्य संघले स्वागत र समन्वय गरेको हो ।
मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल, प्रहरी नायब उपरीक्षक ईश्वर थापा, संघका अध्यक्ष पशुपति नारायण नकर्मी लगायतले स्वागत गर्नुभएको थियो ।
दाङ, रोल्पा हुँदै प्यूठान आउनुभएका पुनले भिंगृ, जस्पुर, जुम्री, बिजुवार, बाग्दुलामा पुस्तक बिक्री गरिसक्नुभएको छ ।सर्वसाधारण नागरिकले पुस्तक किनेर सहयोग गरिदिएका छन् । पुन मल्लरानि पुगेर आजै अर्घाखाँची जाने कार्यक्रम छ ।
बिगत ३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियान अनुरूप डा. पुनले आफ्नो पुस्तक “महावीर पुन” पुस्तक बिक्री अभियानमा हिड्नुभएको हो ।
प्रतिपुस्तक ७ सय ५० रुपैयाँमा बिक्री गर्ने गरिएको डा. पुनले बताउनुभयो । डा. पुनको जीवन कथाका लेखक, राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका डा. पुनले अहिलेसम्म २५ जिल्लामा पुगेर पुस्तक बिक्री गरिसकेको बताउनुभयो ।
हाल सम्म ७० हजार प्रति पुस्तक बिक्री भएको उहाँको भनाई छ ।
करिब तीन लाख पुस्तक बिक्री भएको अवस्थामा कृषि औजार कारखाना सञ्चालनमा ल्याउन सकिन्छ भन्ने डा.पुनको विश्वास छ ।
म्याग्दीमा जन्मिएका पुन ‘इन्टरनेट हल अफ फेम’, ’समग्र सामाजिक नवीनता पुरस्कार’, जोनाथन बी पोष्टल अवार्ड, एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागसेसे पुरस्कार’ जस्ता विभिन्न सम्मानद्वारा सम्मानित भइसक्नुभएको छ ।