झिमरुक । प्युठानको झिमरुक गाउँपालिकाले बाख्रा पालन गर्ने स्थानीय कृषकलाई आत्मनिर्भर बनाउन स्थलगत तालिम दिएको छ । गाउँपालिकाकाको ३ वटा वडाका १ सय ५७ जना बाख्रा पालन कृषकलाई स्थलगत तालिम दिइएको हो ।

झिमरुक गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार १ लाख ५० हजार बजेटबाट वडा नम्बर ५ को हिरापोखरीमा ३१ जना, वडा नम्बर ६ को धगेमा ६० जना र वडा नम्बर ८ को टिमुरचौरमा ६६ जना गरी १ सय ५७ जना कृषकलाई स्थलगत तालिम दिईएको झिमरुक गाउँपालिका पशु स्वास्थ्य प्राबिधिक कृष्ण बस्नेतले जानकारी दिनुभयो । स्थानीय बाख्रा पालन कृषकलाई रोजगारसँग जोडेर आत्मनिर्भर बनाउने उदेश्यले यो तालिम दिएको प्राबिधिक बस्नेतले बताउनुभयो ।

तालिममा सहभागिहरुलाई बाख्रा पालन गर्नको लागि खोर निर्माण, बाख्रालाई विभिन्न रोगबाट बचाउ औषधी उपचार, सरसफाई, व्यवसायीक बाख्रा पालन गर्दा के के बिषयमा ध्यान दिने, कुन जातको बाख्रा पालन गर्ने लगायतको विषयमा कृषकलाई जानकारी दिईएको उहाँले बताउनुभयो।

यो तालिमले स्थानीय बाख्रा पालन कृषक उत्साहित भएको झिमरुक-६, का वडाध्यक्ष धन बहादुर पुनले बताउनुभयो । तालिममा सिकेका सीप ब्यवहारमा लागू गरेमात्र सफल हुने बताउनुभयो । यो कार्यक्रमले कृषकलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने उहाँले बताउनुभयो । तालिमबाट कृषकहरुलाई व्यवसायीक रुपमा बाख्रा पालन गर्न थप सहज हुने बताउनुभयो ।

गाउँपालिकाको आयोजनामा चैत २१ गतेबाट सुरु भएर २५ गते आइतबार झिमरुक-६, स्थित धगेमा तालिम दिएर समापन गरिएको हो । झिमरुक गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धन बहादुर पुनको अध्यक्षतामा भएको तालिकको सहजीकरण पालिकाकामा कार्यरत पशु स्वास्थ्य प्राबिधिकहरु कृष्ण बस्नेत, जयन्ता गिरी र दिपेश महतराले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय