प्यूठान । सडक मर्मत र सुधारपछि लुम्बिनी प्रदेशको प्रसिद्ध र महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल स्वर्गद्धारी पुग्न दर्शनार्थीलाई सजिलो भएको छ । शान्त र रमणीय स्थानमा रहेको स्वर्गद्धारी पुग्ने सडकमा सडक सुरक्षा र मर्मतको काम भएसँगै दर्शनार्थीलाई पुग्न सहज भएको हो ।

राप्ती गाउँपालिका दाङका दामोदर आचार्यले पक्की सडक भएकाले मन्दिर पुग्न सजिलो भएको बताउनुभयो । अहिले भिंगृदेखी स्वर्गद्वारीसम्मको करीव १४ किलोमिटर सडकमा सडक सुरक्षा र मर्मतको काम भएकाले स्वर्गद्वारी पुग्न सजिलो भएको आचार्यको अनुभव छ । “बाटोमा खाल्डाखुल्डी छैन,” उहाँले भन्नुभयो,“सानो गाडी पनि सजिलै आउन सक्छ ।”

स्वर्गद्धारी आउने दर्शनार्थीको चाप बढेसँगै स्वर्गद्धारीको आधार शिविर भिंगृदेखी स्वर्गद्धारीसम्मको करीव १४ किलोमिटर पक्की सडकमा सडक सुरक्षाको काम समेत भएको छ । सडक डिभिजन कार्यालय प्यूठान र सडक पुर्वाधार विकास कार्यालय प्यूठानले यस चालु आर्थिक वर्षमा करोडौं रुपियाँको लगानीमा सडक सुरक्षाको कामका लागि बजेट विनियोजन गरि काम गरेका छन् ।

सडक डिभिजन कार्यालय प्युठानका प्रमुख इन्जिनियर राजिव श्रेष्ठले ८ करोड ९४ लाख ६७ हजारमा ठेक्का सम्झौता भएर सडक सुरक्षाको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । गत वर्ष सडक दुर्घटना भएपछि सडक सुरक्षाको लागि ट्राफिक संकेत, सडक छेउमा रेलिङ राख्ने काम भएको उहाँले बताउनुभयो ।

भिंगृ–स्वर्गद्वारीको घडेरी र रुमाले खण्डमा सडक पूर्वाधार विकास कार्यालयले काम गरिरहेको कार्यालयका निमित्त प्रमुख इन्जिनियर चन्द्र बहादुर शाहले जानकारी दिनुभयो । अघिल्लो वर्ष वर्षातले बाटो पहिरो गएर साँघुरो भएको ठाउँमा पर्खाल लगाएर बाटो सुधार गरिएको उहाँको भनाई छ । ३ करोड ३१ लाख रुपियाँको लागतमा पर्खाल, पहिरो नियन्त्रण, सडक छेउमा रेलिङ र भत्किएको कालोपत्रे मर्मत लगायतका काम अन्तिम चरणमा रहेको शाहले जानकारी दिनुभयो ।

हिन्दु धर्मावलम्वीको सवै प्रकारको पुँजाआजा हुने स्वर्गद्धारीमा नेपालका विभिन्न जिल्लासँगै भारतबाट बढी भक्तजन आउने गर्दछन् । वि.सं.१९५२ सालमा महाप्रभुले स्वर्गद्धारी आश्रममा बौद्धिक मन्त्रबाट दिप प्रज्वलन गरि स्थापना गर्नुभएको अखण्ड महायज्ञ अहिले पनि निरन्तर बलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय