प्यूठान । तीन वर्षसम्म लगातार शुन्य बेरुजु बनाएका जिल्लाका दुई स्थानीय तहमा यो वर्ष बेरुजु देखिएको छ । महालेखा परीक्षकको ६१ औं प्रतिवेदन अनुसार शुन्य बेरुजु भएका मल्लरानी र सरुमारानी गाउँपालिकाको यो वर्ष बेरुजु रकम देखिएको हो ।
मल्लरानी गाउँपालिकाको ४ करोड १५ लाख ९ हजार रुपियाँ बेरुजु देखिएको हो । त्यो लेखापरीक्षण गरिएको रकमको ५.६२ प्रतिशत हो । त्यसैगरी शुन्य बेरुजु बनाएको सरुमारानी गाउँपालिकाको ७९ लाख ७० हजार बेरुजु देखिएको छ । त्यो लेखापरिक्षण गरिएको रकमको ०.७६ प्रतिशत हो । दुवै पालिकाको आर्थिक वर्ष २०७६÷०७७, २०७७÷०७८ र २०७८÷०७९ को बेरुजु शुन्य रहेको थियो ।
अरु पालिकाको बेरुजु कति ?
प्रतिवेदन अनुसार प्यूठान नगरपालिकाको ७ करोड ५ लाख ७५ हजार, स्वर्गद्धारी नगरपालिकाको ६ करोड ३१ लाख ७२ हजार, ऐरावती गाउँपालिकाको ३ करोड ५ लाख ९७ हजार, गौमुखी गाउँपालिकाको ५ करोड ९ लाख १ हजार, झिमरुक गाउँपालिकाको ६ करोड २६ लाख ४२ हजार, नौबहिनी गाउँपालिकाको ३ करोड १४ लाख १ हजार र माण्डवी गाउँपालिकाको १ करोड ३३ लाख ८८ हजार रुपियाँ बेरुजु देखिएको छ ।