
प्यूठान । झिमरुक गाउँपालिकाले शिक्षकलाई एकीकृत पाठ्यक्रम सम्बन्धी कन्टमाइज्ड तालिम दिएको छ । सिकाइ उपलब्धि हासिल गराउने उदेश्यले शिक्षकहरुलाई सिकाइ सहजीकरण र मूलयाङ्कन प्रक्रिया सम्बन्धि क्षमता विकास गराउन एकीकृत पाठ्यक्रम सम्बन्धी कन्टमाइज्ड तालिम दिइएको हो ।
यही जेठ २४ र २५ गते २ दिनसम्म चलेको तालिममा आधाभुत शिक्षाका तहगत सक्षमता, आधाभुत तह (कक्षा१-३ सम्म) को बिषयगत पाठ्यक्रम, एकीकृत पाठ्यक्रम ब्यवहार कुशल शिपहरु, पाठ्यक्रमको एकीकृत स्वरुप, एकीकृत पाठ्यक्रम कार्यान्वयनका लागि शिक्षण सिकाइ योजना निर्माण, सिकाइ सहजीकरण विधि तथा प्रक्रिया विद्यार्थी मुल्यांकन, शिक्षण सिकाइका लागि मध्यम भाषाको छनोट पाठ्यक्रम कार्यान्वयन योजना मुल्यांकन परिमार्जन र सुधार गर्ने लगायतको बिषयबस्तुमा सहजीकरण गरिएको झिमरुक गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मोहन बिसीले जानकारी दिनुभयो ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको तालीममा पालिकाका आधाभुत तहका सामुदायिक तथा संस्थागत विद्यालयका ५२ जनाको शिक्षकहरुको सहभागिता रहेको थियो ।
तालिमको समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले शिक्षकहरु समय अनुसार प्रबिधिमैत्री बनाउनुपर्ने बताउनुभयो । उहाँले आधाभुत तहका शिक्षकहरु खोजमुलक र अनुसन्धानमूखी भएर विद्यार्थीको शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन लाग्नुपर्ने बताउनुभयो । युग र समयानुकूल आफुलाई परिस्कृत गर्दै लैजान सकेमात्र शिक्षण शिकाइमा उपलब्धि हासिल गर्न सकिने उहाँले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाहिले पाठ्यक्रमको सफल कार्यन्वयनका लागि शिक्षकले योजनाबद्ध शिक्षण सिकाइलाई ध्यान दिनुपर्ने बताउनुभयो । असल र दक्ष नागरिक निर्माणका लागि शिक्षकले विद्यार्थीलाई उपलब्धिमूलक ढंगले सिकाइ सुधार गर्नुपर्ने बताउनुभयो ।
झिमरुक गाउँपालिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष प्रमोद प्रोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाही कर्मचारी लगायतको पनि उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण शिक्षा सहजकर्ता रामचन्द्र जोशी, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मोहन बिसी र पुष्प रानाले गर्नुभएको थियो ।