प्यूठान । जिल्लामा भएका मानवअधिकार उल्लंघनका घटनाहरुको विषयमा समीक्षा गरिएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानको आयोजनामा घटनाहरुको अर्धवार्षिक समीक्षा गरिएको हो ।

इन्सेकले वर्षेनी मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्ने र त्यसका लागि जिल्लामा भएका मानवअधिकार उल्लंघनका घटनाहरु समावेश हुने गरेको इन्सेक प्रतिनिधि रविन्द्र पाण्डेले बताउनुभयो । वर्षमा दुई पटक जिल्लामा भएका घटनाहरुको सरोकारवालासँग छलफल गरेर समीक्षा गर्ने गरिएको उहाँले बताउनुभयो । अंग्रेजी वर्ष अनुसार सन् २०२४ जनवरीदेखी जुनसम्मको घटनाहरुको अर्ध-वार्षिक समीक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।

 

प्यूठान उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले राज्यले मानवअधिकार रक्षाको लागि आफ्नो तर्फबाट भूमिका खेल्दै आएको बताउँदै कहि कतै कमजोरी भए औल्याउन आग्रह गर्नुभयो । उहाँले मानवअधिकार रक्षाका लागि राज्यका निकाय र मानवअधिकारको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लामा स्वास्थ्य, शिक्षा, उपभोक्ता अधिकार, कृषि लगायतका विषयमा बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारी, गैरसरकारी र नीजि क्षेत्रले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन सवै पक्ष लाग्नुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा विभिन्न मानवअधिकारसँग सम्वन्धित क्षेत्रका प्रतिनिधि, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिती थियो । सहभागीले छुटेको घटनाहरुलाई समावेश गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय