प्यूठान । सरुमारानी गाउँपालिकामा “अपराध न्यूनीकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अन्तरक्रिया कार्यक्रम” गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षाविद प्रा.डा. विद्यानाथ कोईरालाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । उहाँले शिक्षाले नै अध्यारोबाट उज्यालो तर्फ डोर्याउने, शिक्षाबाट नै समृद्धि हासिल गर्न सकिने र यसबाट एउटा परिवार देखी गाउँ समाज हुँदै समग्र देशको विकास हुने बताउनुभयो ।
शिक्षकहरुले बालबालिकाको मनोभावना बुझी व्यवहारहरु गर्नुपर्ने र सँधै सकारात्मक सोँचका साथ आफ्नो कर्तव्य पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले प्युठान जिल्ला तथा सरुमारानी गाउँपालिकामा हुने अपराधको तथ्यांक प्रस्तुत गर्दै अपराध न्युनिकरणमा विद्यालय र शिक्षकहरुको भुमिका र किशोरावस्थाका बालबालिकाहरु संलग्न हुन सक्ने अपराधजन्य क्रियाकलापहरुको बारेमा प्रष्ट पार्नुभएको थियो ।
उहाँले किशोरावस्थाका विद्यार्थीहरुबाट हुन सक्ने अपराधजन्य क्रियाकलापहरु न्यूनिकरण गर्न समय समयमा विद्यार्थीहरुलाई सचेत गराउनुका साथै जिम्मेवारीबोधका साथ यस्ता क्रियाकलापहरुलाई निरुत्साहित तथा नियन्त्रण गर्न प्रहरीलाई समयमै सुचना दिई सहयोग गअरी जिम्मेवार नागरिकको भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
साथै कार्यक्रममा स्थानीय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम अन्तरगत नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट तयार पारिएको शान्ति सुरक्षाका विविध बिषयहरु समेटिएको जनचेतनामूलक प्रशिक्षण सामग्री सरुमारानी गाउँपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापकहरुलाई वितरण गरिएको थियो ।
सामाजिक शान्ति सुरक्षा र सतर्कता सम्बन्धी बिषयहरु जिल्ला प्रहरी कार्यालय प्युठानबाट उपलब्ध उक्त प्रशिक्षण सामग्री वा अन्य स्रोतहरुबाट समेत खोजी गरी विद्यालयका शिक्षकहरु र विद्यार्थीलाई सु-सूचित गर्दै प्रशिक्षण गराउने, स्थानिय पाठ्यक्रममा समावेश गराउने र त्यसका लागि सरुमारानी गाउँपालिका र जिल्ला प्रहरी कार्यालय प्युठानबाट आवश्यक सहयोग एवं समन्वय र साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले अपराधमुक्त विद्यालय र समाज निर्माण गर्नमा आ-आफ्नो भुमिका निर्वाह गर्नुका साथै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरुले आफ्नो कर्तव्यलाई निष्ठा पूर्वक पालना गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा प्यूठान जिल्ला अदालतका श्रेस्तेदार गणेश कुमार गौतम, सरुमारानी गा.पा.को प्रमुख प्रशासकिय अधिकृत देविराम पाठक, शिक्षा शाखा प्रमुख पुष्पलाल शाही, जनप्रतिनिधि, कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक लगायत ५९ जनाको उपस्थिति रहेको थियो ।
गाउँपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय प्यूठानको समन्वयमा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देविराम पाठकल शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गरिएको कार्यक्रम फलदायी हुने आशा व्यक्त गर्नुभएको थियो ।




S.K. Creative Media Group